सबै प्रदेशमा मेघगर्जन र चट्याङसहित वर्षा हुने सम्भावना, सतर्क रहन महाशाखाको अपिल

काठमाडौँ – जल तथा मौसम पूर्वानुमान महाशाखाले सबै प्रदेशमा मेघगर्जन र चट्याङसहित वर्षा हुने सम्भावना रहेको भन्दै सतर्क हुन अपिल गरेको छ । महाशाखाले तीन दिनको पूर्वानुमानसहित जारी गरेको बुलेटिनमा प्रदेश १, २ र बागमती प्रदेशका एकदुई स्थानमा भने भारी वर्षाको सम्भावना रहेकाले उक्त क्षेत्रका नदीमा पानी वहाव बढ्ने र पहिरो जाने पनि जोखिम रहेकाले सतर्क रहन आग्रह गरेको हो ।

महाशाखाका अनुसार मुलुकका विभिन्न स्थानमा मध्यमस्तरको वर्षा भइरहेको छ । दिउँसोसम्म हवाइ उडानदेखि सडक यातायात नै प्रभावित हुने गरीको भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार अहिले नेपालको पूर्वी र मध्य भू-भागमा मनसुनी वायु तथा पश्चिमी भू-भागमा पश्चिमी वायुको प्रभावले देशभर नै सामान्य बदलीको अवस्था छ ।