स्थानीयले तहले धमाधम दिए अनुमति, साउनभर भर्ना, भदौदेखि पठनपाठन

काठमाडौँ – संघीय सरकार अलमलमैँ रहेका बेला स्थानीय तहले धमाधम विद्यालयका कक्षा सञ्चालनका लागि अनुमति दिएका छन् । देशका विभिन्न स्थानीय तहले आ–आफ्नो अनुकूलतामा अनुमति दिएसँगै संघीय राजधानी काठमाडौँ उपत्यकाका स्थानीय तहले पनि कक्षा सञ्चालन, भर्ना तथा शुल्कबारे निर्णय लिन थालेका छन् ।

काठमाडौँको बुढानिलकण्ठ नगरपालिकाले साउनभर भर्ना र भदौ एक गतेदखि कक्षा सञ्चालन गर्ने भएको छ । नगरप्रमुख उद्धव पौडेलले खुल्लापाटीसँग भने –‘संघीय सरकारले स्थानीयलाई दिने भनेपछि हामीले निर्णय गरेका हौँ । साउनभर भर्ना र भदौदेखि प्रत्यक्ष कक्षा सञ्चालनको अनुमति दिने भन्ने भएको छ ।’

मेयर पौडेलका अनुसार वैशाखको शुल्क संघीय सरकारको निर्देशन बमोजिम कुनै पनि स्कुलले लिन पाउनेछैनन् भने जेठ र असारको ५० प्रतिशत मासिक शुल्क भने लिन पाउनेछन् ।

‘अनलाइन कक्षा चलाएका निजी विद्यालयलाई मात्र ५० प्रतिशत शुल्क लिन अनुमति दिएको हो । अनलाइन कक्षा नचलाएकाले कुनै पनि शुल्क लिन पाउने छैनन् ।’ उनले थप स्पष्ट पारे । साउन महिनाको शुल्कबारे भने नगरपाकिाले निर्णय नगरेको उनको भनाइ छ ।

सरकारी विद्यालयमा कार्यरत शिक्षकले घर बसी बसी तलब थापे पनि निजीमा कार्यरत शिक्षकले अनलाइनबाट पढाएपनि तलब पाउन नसकेकाले यस्तो निर्णय गरेको उनले जानकारी दिए । यसअघि भक्तपुरको सूर्यविनायक नगरपालिकाले गत असार अन्त्यमा शैक्षिक क्रियाकलाप सञ्चालन अनुमति दिइसकेको छ ।

साथै, देशका विभिन्न स्थानीय तहले विद्यालयका शैक्षिक गतिविधि अघि बढाउन सम्बन्धित विद्यालयलाई निर्देशन दिइसकेका छन् ।