आदिशंकरा कलेज अफ इन्जिनियरिङ एण्ड टेक्नोलोजीले नेपाली विद्यार्थीलाई छात्रवृत्ति दिने

काठमाडौँ– भारतमा रहेको आदिशंकरा कलेज अफ इन्जिनियरिङ एण्ड टेक्नोलोजीले नेपाली विद्यार्थीहरुलाई छात्रवृत्ति दिने भएको छ । हालै काठमाडौँको पुतलीसडकस्थित इन्फरमेटिक्स कन्सल्टेन्सीमा पत्रकार सम्मेलन गरी यसको जानकारी दिएको हो । आगामी शैक्षिक वर्षका लागि भर्ना र छात्रवृत्ति सम्बन्धी आयोजित पत्रकार सम्मेलनमा कलेजको इन्जिनियरिङ र प्रविधि शिक्षामा उत्कृष्टताको प्रतिबद्धता, साथै योग्य र प्रतिभाशाली विद्यार्थीहरूका लागि उपलब्ध छात्रवृत्तिहरूको बारेमा छलफलसमेत भएको थियो ।

कलेजले भविष्यका इन्जिनियर र प्राविधिज्ञहरूलाई समाजमा महत्वपूर्ण योगदान पुर्याउन सक्षम बनाउने गरी छात्रवृत्तिका साथमा कोर्ष, फि, लगायतबारे पनि जानकारी दिएको थियो । कार्यक्रममा विशेष अतिथिका रुपमा कलेजका निर्देशक डा. मोहन गारूले कलेजको शैक्षिक उत्कृष्टताप्रतिमा विद्यार्थीहरुले आशंका गर्नुपर्ने कुनै ठाउँ नदिइने भएकाले ढुक्क हुन विद्यार्थीहरुलाई आग्रह गर्नुभयो ।

त्यस्तै कलेजकी अन्तर्राष्ट्रिय भर्ना निर्देशक श्रीमती चैतन्य श्रीनिवासराजले पनि भर्ना प्रक्रिया, उपलब्ध छात्रवृत्ति, र कलेजले आफ्ना विद्यार्थीहरूलाई प्रदान गर्ने विभिन्न अवसरहरूको विस्तृत जानकारी दिनुभएको थियो । त्यसैगरी इन्फरमेटिक्स कन्सल्टेन्सीका निर्देशक ज्ञानेन्द्र मान जोशीले इन्फरमेटिक्स कन्सल्टेन्सीको शैक्षिक परामर्शदाताका रूपमा विद्यार्थीहरूलाई शैक्षिक लक्ष्यतर्फ मार्गदर्शन गर्नको लागि महत्त्वपूर्ण भूमिका खेलेको जानकारी दिनुभयो ।

कार्यक्रममा इन्फरमेटिक्स कन्सल्टेन्सीका भारत शाखा प्रमुख शिव न्यौपानेले कलेज र इन्फरमेटिक्स कन्सल्टेन्सी बीचको रणनीतिक सहकार्यको बारेमा जानकारी दिनुभएको थियो । यस साझेदारीले भर्ना प्रक्रियालाई सहज बनाउने र विद्यार्थीहरूलाई उत्कृष्ट शैक्षिक अवसरहरू प्रदान गर्ने उद्देश्य राखेको छ। आदिशंकरामा भर्ना हुन , छात्रवृत्ति लिन इच्छुक विद्यार्थीहरुले पुतलीसडकस्थित इन्फरमेटिक्स कन्सल्टेन्सीमा सम्पर्क गर्न पनि उहाँले आग्रह गर्नुभयो ।