नेपालमैँ पहिलोपटक मोबाइल व्यवसायी र ग्राहकबीच सम्झौता सुरु

काठमाडौँ– नेपालमैँ पहिलोपटक मोबाइल व्यवसायी र ग्राहकबीच मोबाइलको मर्मतबारे सम्झौता सुरु भएको छ । नेपाल मोबाइल व्यवसायी महासंघको तारन्तारको प्रयासपछि तयार पारिएको ग्राहक र मोबाइल पसलबीचको सम्झौताको औपचारिक सुरुवात कोटेश्वर मोबाइल व्यवसायी संघले गरेको हो ।

संघले काठमाडौँमा एक कार्यक्रम गरी मोबाइल व्यवसायीलाई सम्झौता पत्र हस्तान्तरणसँगै कार्यान्वयन सुरु गरिएको जनाएको छ । ग्राहकले मोबाइल पसलमा मर्मतका लागि ल्याउने क्रममा स्पष्ट बिल विना चोरी, हराएरको मोबाइल आफ्नो दाबीसहित, डाँका वा लुटपाट गरी ल्याएमा मोबाइल व्यवसायीलाई सो को जानकारी नहुने भएको ग्राहकको आग्रह बमोजिम व्यवसायीले बिक्री, अनलक खोलिदिने जस्ता कार्य गर्दा व्यवसायी कानुनी झन्झटमा पर्ने गरेकोले त्यस्ता गैरकानुनी कार्यले व्यवसायी फस्न नपरोस् भन्ने हेतुसाथ सम्झौता पत्रमार्फत कार्य थालिएको नेपाल मोबाइल व्यवसायी महासंघका केन्द्रीय अध्यक्ष भरत भट्टराईले जानकारी दिनुभयो ।

‘मोबाइल मर्मतमा आउने ग्राहकको तीनपुस्ते विवरणसहितको सम्झौता पत्र तयार गरी कार्यान्यनमा ल्याइएको छ । यसले गैह्रकानुनी तवरबाट ल्याएको मोबाइल आफ्नो निजी प्रयोजनको भनी मोबाइल मर्मत गराएमा , व्यवसायीमार्फत बिक्री वितरण गराएमा मुलुकी देवानी संहिता २०७४ को परिच्छेद–४ को करारको परिपालना सम्बन्धी व्यवस्थाको दफा २५२ को उपधारा २ बमोजिम चोरी वा हराएको मोबाइल बिक्री वा अनलक गर्न ल्याएको भएमा कानुन बमोजिमको दायित्व ग्राहक स्वयंले व्यहोर्ने गरी सम्झौता पत्रले बाँध्नेछ । यसले झुक्यान पारी व्यवसायीलाई गैरकानुनी हर्कत गर्नेलाई नियन्त्रण गर्ने विश्वास लिएका छौँ । ’ उहाँले स्पष्ट पार्नुभयो ।

सम्झौता पत्रमा ग्राहकको तीनपुस्तेसहित ल्याप्चे लगाएको हुनुपर्ने तथा ग्राहकको नेपाल सरकारबाट जारी कुने परिचय पत्र अनिवार्य लिइएको हुनुपर्ने बनाइएको छ । सथौ व्यवसायीको पसल दर्ता र महासंघको सदस्यता अनिवार्य लिइएको र मादक पदार्थ सेवन वा होस ठेगानमा नरहेको व्यक्तिसँग कारोबार नगरिएको हुनुपर्ने उल्लेख छ ।

महासंघले तीन महिनाअघि नै सम्झौता तयार गरेपनि विभिन्न सरोकारवाला पक्षसँग छलफल गरी कोटेश्वर मोबाइल व्यवसायी संघमार्फत कार्यान्वयन थालेको हो । कार्यक्रममा वागमती प्रदेशसभा सदस्य सुनील केसीले व्यवसायीले कानुनी दायराभित्र कारोबार गर्दा राज्यले समन्वय गर्नुपर्नेमा जोड दिनुभयो । काठमाडौँ जिल्ला मोबाइल व्यवसायी संघका अध्यक्ष सुरेश बानियाँले महासंघको लामो तदारुकता र छलफलपछि यस किसिमको सम्झौता कार्यान्वयनमा ल्याइएको भन्दै सबै व्यवसायीलाई इमान्दारीपूर्वक कार्यान्वयनका लागि आग्रह गर्नुभयो ।

कोटेश्वर मोबाइल व्यवसायी संघका अध्यक्ष दिवाकर न्यौपानेले कोटेश्वरबाट यसको सुरुवातले देशभरका मोबाइल व्यवसायीलाई उत्प्रेरित गरेको भन्दै क्रमशः अन्य जिल्लामा पनि कार्यान्वयन हुने विश्वास व्यक्त गर्नुभयो । कार्यक्रममा महानगरीय प्रहरी प्रभागका प्रहरी अधिकारीले भने यसको कार्यान्वयन चुनौतीपूर्ण रहेको बताएका थिए ।