काठमाडौँ – काठमाडौंको पेप्सीकोला टाउनप्लानिङस्थित नेक्सस इन्टरनेशनल एकेडेमीमा ‘विद्यालयमा कुलपति मार्फत विश्व पर्यटन उपत्यकाव्यापी चित्रकला प्रतियोगिता तथा प्रदर्शनी’ कार्यक्रम आयोजना गरिएको छ। “शिक्षामा कला, कलामा शिक्षा” भन्ने नाराका साथ विश्व पर्यटन उपत्यकाव्यापी चित्रकला प्रतियोगिता तथा प्रदर्शनी आयोजना गरिएको हो ।
प्रदर्शनीले नेपाली कला, संस्कृति र पर्यटनबारे विद्यार्थीहरूमा चेतना बढाउनुका साथै भविष्यका कलाकारहरूलाई प्रेरणा दिने उद्देश्य राखिएको आयोजकले जनाएको छ । कार्यक्रममा नेक्ससका संस्थापक प्राचार्य एवं प्याब्सन केन्द्रीय महासचिव आर.बी कटवालले विद्यार्थीहरुको सिर्जनात्मक क्षमता प्रष्फुटनमा यस किसिकका कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने भएकाले कार्यक्रम आयोजना गरी विद्यार्थीहरुको क्षमता प्रवद्र्धनमा लागिएको जानकारी दिनुभयो ।
चित्रकलाले विद्यार्थीहरुको शैक्षिक उन्नयनका साथै सिर्जनात्मक क्षमता प्रष्फुटन हुने विश्वास व्यक्त गर्नुभयो । नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छाली ‘कलाङ्’ले चित्रकलाले शिक्षामा कलाको समावेशिता, पर्यटनमा चेतना अभिवृद्धिका साथै सिर्जनात्मक क्षमताबारे स्पष्ट पार्नुभयो ।
मानवता अभियानको आयोजनामा भएको कार्यक्रममा नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको सहयोग रहेको थियो भने प्याब्सन, नेशनल प्याब्सन र नेपाल निजी विद्यार्थी संघ लगायतका संस्थाहरू सह–आयोजक थिए। कार्यक्रममा काठमाडौं उपत्यकाका विभिन्न विद्यालयहरूबाट विद्यार्थीहरू सहभागी थिए ।