काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले निर्धक्क भएर लगानी गर्न निजी विद्यालय सञ्चालकलाई आग्रह गर्नुभएको छ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) को १६औँ राष्ट्रिय महाधिवेशनको सोमबार उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले सम्पत्तिको हक संविधानले नै दिएकाले ढुक्क भएर लगानी गर्न निजी विद्यालयललाई आग्रह गर्नुभएको हो ।
निजी विद्यालय गुठीमा लैजानेगरी शिक्षा ऐनमा आएको प्रस्तावबारे आफू अनभिज्ञ रहेको भन्दै उहाँले यस्तो प्रस्तावले आफू छक्क परेको बताउनुभयो । लगानी गरी स्वदेशमा गुणस्तरीय शिक्षा दिन उहाँले विद्यालय सञ्चालकहरुलाई आग्रह गर्नुभयो ।
सरकारले शुल्क तिर्न नसक्ने बालबालिकालाई निःशुल्क शिक्षा दिने र यसमा निजी क्षेत्रको पनि साथ लिने उहाँको भनाई थियो । कार्यक्रममा प्याब्सनले प्याब्सन गौरव, प्याब्सन रत्न आदि सम्मानबाट पूर्वअध्यक्ष भोजबहादुर शाह, लक्ष्यबहादुर केसी, डा विजय सम्बाहाम्फेलगायतलाई सम्मानित गरेको थियो ।