काठमाडौँ– नेपाली कांग्रेसका युवा नेता तथा सांसद डा. सुनील कुमार शर्माले बाराको प्रसौनी गाउँपालिका वडा नम्बर–३, नौतनका ३२ वर्षीय नोस्तहिम मियाको निःशुल्क उपचार गरिदिनुहुने भएको छ । मिया आर्थिक अभावका कारण उपचार नपाएर तड्पिरहेका उनलाई शर्माले निःशुल्क उपचारको व्यवस्था गरिदिनुभएको हो ।
नोस्तहिम मियाकी श्रीमती शाहबुन खातुनले श्रीमानको उपचार गराउन समाजसँग सहयोगको अपील गरेपछि डा. सुनीलले निःशुल्क उपचारको प्रबन्ध गरिदिनुभएको हो । हाल घरमा रोजगारी गर्ने कोही नभएकाले औषधि किन्न र दैनिक भोजन जुटाउन समेत समस्या रहेको खातुनले बताइन् ।
चार साना छोराछोरी रहेको खातुनले गाउँका छिमेकीहरूले दिएको थोरै(थोरै आटा र चामलले आफ्नो परिवारको जीवनयापन चलाइरहेको बताइन् ।
प्रसौनी गाउँपालिका वडा नम्बर(३ का वडा अध्यक्ष पदका उम्मेदवार रामप्रसाद साहले मियाको आर्थिक अवस्था अत्यन्त कमजोर रहेको बताएका थिए ।
नोस्तहिम मियाको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएपछि नेपाली कांग्रेस बारा क्षेत्र नम्बर–४ का सभापति सुनिलप्रसाद गुप्ताले नेपाली कांग्रेसका युवा नेता तथा सांसद डा. सुनील शर्मासँग उनको उपचारको लागि सहयोग गर्न आग्रह गरेका थिए।
सांसद शर्माले आग्रह स्वीकार्दै काठमाडौं मेडिकल कलेज, सिनामंगलमा उनको निःशुल्क उपचारको व्यवस्था गरिदिनुभएको हो । नेपालका विभिन्न ठाउँमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरी लाखौँ गरिब तथा असहायलाई सेवा प्रदान गर्दै आउनुभएका शर्माले प्रतिनिधि सभामा तलब भत्ता समेत लिने गर्नुभएको छैन ।
डा. शर्माले आफ्नो निर्वाचन क्षेत्रमा जुनसुकै पार्टीका नागरिक भए पनि नोबेल मेडिकल कलेजमा निःशुल्क क्याबिनको व्यवस्था र काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा पनि आर्थिक अवस्था कमजोर भएका बिरामीहरूको निःशुल्क उपचार गर्दै गर्दै आउनुभएको छ ।