काठमाडौँ – कोटेश्वर मोबाइल व्यवसायी संघको नवौँ वार्षिक साधारणसभा तथा पाँचौ महाधिवेशन सम्पन्न भएको छ । ललितपुरको गोदावरीमा भएको साधारण सभामा सहभागीहरु मोबाइल क्षेत्रका साझा समस्या र समाधानबारे अन्तक्र्रियासहित सम्पन्न गरे । कोटेश्वर व्यवसायी संघका अध्यक्ष नीलप्रसाद घिमिरेले व्यवसायीको घरबहाल लगायतका समस्या समाधानका लागि तथा व्यवसायीको हकहितका लागि पहल भैरहेको जानकारी दिनुभयो ।
काठमाडौँ मोबाइल व्यवसायी संघका अध्यक्ष सुरेश बानियाँले सेकेण्ड हेण्ड मोबाइल खरिद गर्दा व्यवसायी समस्यामा पर्ने भएकाले यसको नीतिगत र कानूनी रुपमा समाधानका लागि प्रयत्न गर्नुपर्नेमा जोड दिनुभयो । मोबाइल वितरक संघका अध्यक्ष दिनेश चुलाधौले कोटेश्वर क्षेत्र पनि अन्य क्षेत्रभन्दा अब्बल मोबाइल हब बन्दै गइरहेकाले पार्किङ लगायतका समस्या समाधानका लागि समन्वय हुनुपर्नेमा जोड दिनुभयो । वार्षिक ३१ अर्बको मोबाइल आयात हुने गरेको भन्दै उहाँले इम्पोटरहरुसँग सहकार्य गरी कम्पनीसँग समन्वयमा आफूहरुले भूमिका खेल्ने प्रतिबद्धता जनाउनुभयो ।
वैदेशिक रोजगारीमा गएकाका बाहेक चोरी लगायतबाट मोबाइलमा हुने गरेको आयात प्रतिस्ष्थापनमा जोड दिन सके राज्यले कर उठाउन सक्ने भएकाले यसमा सम्बद्ध निकायले ध्यान दिनुपर्ने बताउनुभयो । त्यसैगरी मोबाइल व्यवसायी महासंघका अध्यक्ष भरत भट्टराईले सेकेण्ड हेण्ड मोबाइल खरिदमा देखिएको व्यवसायी पीडित बनाउने कार्यको नियन्त्रणका लागि नीतिगत पहल गरी महासंघले समग्र व्यवसायीको हकहितका लागि पहल गरिरहेको जानकारी दिनुभयो ।
कोही कसैलाई आफ्नै फोन आपत् पर्दा बेच्न पनि समस्या भएकाले यसबारे पहल गर्नुपर्ने महासंघको स्पष्ट धारणा रहेको उहाँको भनाई थियो । त्यसैगरी प्रमुख अतिथि वागमती प्रदेशसमा सदस्य सुनील केसीले व्यवसायीबीच एकताले नै व्यवसाय चलायमान बनाउने भएकाले व्यवसायीबीच एकापसमा हातेमालो जरुरी भएको बताउनुभयो । कोटेश्वर क्षेत्रमा देखिएका व्यवसायजन्य समस्या समाधानका लागि आफू हरेक सुखदुःखमा साथ दिन सदैव तत्पर रहेको उहाँको भनाइ थियो ।
त्यसैगरी कोटेश्वर मोबाइल व्यवसायी संघका अध्यक्ष दिवाकर न्यौपानेले कोटेश्वरको सरस्वती क्लब वाटिका आसपास वा अन्य उपर्युक्त स्थानमा वाटर एटिम र सार्वजनिक शौचालय अति जरुरी भएकाले सोको व्यवस्थापनका लागि सम्बन्धित क्षेत्रलाई आग्रह गर्नुभयो । कार्यक्रममा मोबाइल व्यवसायीका सन्तति मध्ये एसइईमा उत्तीर्णहरुलाई नगद पुरस्कारले सम्मान गरिएको थियो ।
कोटेश्वर मोबाइल व्यवसायीले चयन गरे नयाँ कार्यसमिति
यसैबीच कोटेश्वर क्षेत्रका मोबाइल व्यवसायीले वर्तमान अध्यक्ष दिवाकर न्यौपानेकै अध्यक्षतामा पुनः नयाँ कार्यसमिति चयन गरेका छन । समिितको अध्यक्षमा पुनः एक कार्यकालका लागि दिवाकर न्यौपाने सर्वसम्मतिले चयन भएका छन ।
त्यसैगरी उपाध्यक्षमा राज खनाल, सचिवमा सम्राट शर्मा, सहसचिवमा राजेन्द्र चौलागाईं, कोषाध्यक्षमा दीपक पोखरेल, सहकोषाध्यक्षमा संगम सिंह ठकुरी, सदस्यहरुमा निरज अधिकारी, सुदर्शन बस्नेत, राजेश जैसवाल, रेणुका चौलागाईँ, ममता चौलागाईँ चयन भएका छन । बाँकी कार्यसमितिले मनोनयन गर्ने नवनिर्वाचित अध्यक्ष दिवाकर न्यौपानेले जानकारी दिनुभयो ।