नेपाल इरामा अभिभावक दिवस सम्पन्न

भक्तपुर– सूर्यविनायक नगरपालिका वडा नं ८ दार्जिलिङ हाइटस्थि नेपाल इरा एकेडेमी पहिलो अभिभावक दिवस भब्य रुपमा सम्पन्न गरेको छ । विद्यालय प्राङ्गणमा भएको अभिभावक दिवस कार्यक्रममा सूर्यविनायक नगरप्रमुख वासुदेव थापाले सुखी नेपाली समृद्ध नेपालको परिकल्पना साकार पार्न विद्यालयले महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो ।

आगामी दिनमा राम्रो गर्न शुभकामना दिनुभएको थियो । त्यस्तै नगरप्रवक्ता एवं वडा नं ७ का वडाध्यक्ष रविन्द्र सापकोटाले पनि विद्यार्थी र विद्यालय तथा अभिभावकबीच समन्वय भएमा मात्रै विद्यार्थीहरुले शैक्षिक क्षेत्रमा प्रगति गर्न सक्ने भएकाले विद्यालयले हालसम्म खेलेको भूमिकाको सह्राहना गर्दै आगामी दिनमा पनि थप प्रगति गर्न शुभकामना दिनुभयो ।

औपचारिक कार्यक्रम सकिएपछि सांस्कृतिक र क्षमता प्रदर्शनात्मक कार्यक्रम गरिएको विद्यालयका संस्थापक प्राचार्य बलराम सुबेदीले जानकारी दिनुभयो । त्यसक्रममा १७० प्रमाणपत्र, ३५५ मेडल र विभिन्न २६ विधामा विद्यार्थीहरुलाई पुरस्कृत गरिएको उहाँले बताउनुभयो । विद्यार्थीहरुले विभिन्न गायन तथा नृत्य लगायत, सांस्कृतिक कार्यक्रम, जीवन विज्ञान तथा तेक्वान्दो लगायतका प्रस्तुती विद्यार्थीहरुले गरेका थिए ।

अन्य विद्यालयभन्दा फरक धारमा सुरु गरिएको जानकारी दिँदै विद्यालयका सस्थापक प्राचार्य बलराम सुबेदीले शैक्षिक रुपमा जागरुक असल नागरिक उत्पादन गर्ने गरी विद्यालयले शैक्षिक उन्नयनमा लाग्ने प्रतिबद्धता जनाउनुभएको थियो ।