केएमसीको टोलीबाट काभ्रेमा निःशुल्क स्वास्थ्य परीक्षण, ७ सय बढी लाभान्वित

काठमाडौँ- नेपाली कांग्रेसका सांसद डा. सुनिल शर्माको काठमाडौं मेडिकल कलेज पब्लिक लिमिटेड (केएमसी) को स्वास्थ्य टोलीले काभ्रेमा निःशुल्क स्वास्थ्य सेवा प्रदान गरेको छ । निःशुल्क स्वास्थ्य शिविरमा ७ सय ५७ जनाको स्वास्थ्य परीक्षण गरिएको केएमसीका प्रबन्धक एवं प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद दाहालले जानकारी दिनुभयो ।

ज्योति मिर्मिरे सामूहिक बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २५औँ रजत वर्षको अवसरमा  सहकारीको नमोबुद्धरोडस्थित प्राङ्गणमा भएको शिविरमा स्थानीयसहित लाभान्वित भएका हुन । शिविरमा ७८ जनाको भिडियो एक्सरे, ९५ जनाको ल्याब परीक्षण र ५६ जनाको ईसीजी गरिएको उहाँले जानकारी दिनुभयो ।

साथै, २६ जनाको दाँत परीक्षण गरिएको थियो । स्वास्थ्य शिविरमा आएकामध्ये ३६ जनालाई भने थप उपचारका लागि केएमसीमा रिफर गरिएको छ । केएमसीले सामाजिक उत्तरदायित्व अन्तर्गत देशका विभिन्न भागमा पुगेर निरन्तर रूपमा निःशुल्क स्वास्थ्य शिविर गर्दै आएको छ ।