काठमाडौँ –काठमाडौं मेडिकल कलेज (केएमसी) का सञ्चालक तथा प्रतिनिधि सभा सदस्य डा. सुनील शर्माले दुर्गम हुम्ला जिल्लाकी एक मृगौला पीडितको निःशुल्क उपचार गरिदिनुहुने भएको छ । हुम्लाको दुर्गम गाउँकी देबिसरा रावलको निःशुल्क मृगौला प्रत्यारोपण गरिदिने घोषणा डा. शर्माले गर्नुभएको हो ।
हुम्ला जिल्लाका सांसद तथा माओवादी केन्द्रका नेता छिरिङ डम्डुल लामा र विरामीका श्रीमान् हर्क बहादुर रावलले डा. शर्मासँग भेट गरी उपचारका लागि आग्रह गरेपछि डा. शर्माले निःशुल्क उपचार गरिदिने प्रतिबद्धता जनाउनुभएको थियो । मृगौला प्रत्यारोपणका साथै विरामीको औषधी उपचारका लागि लाग्न अन्य खर्चवापत् एक लाख रुपैयाँसम्म सहयोग गर्ने पनि डा. शर्माले घोषणा गर्नुभएको छ ।
देबिसरा रावललाई एम्बुलेन्सबाट केएमसीमा ल्याई उपचारको प्रक्रिया सुरु गरिएको केएमसीले जानकारी दिएको छ । आर्थिक अवस्था कमजोर रहेकाले रोगको उपचार सम्भव नभएको ठानी रहेका विरामीका परिवारले डा. शर्मा भेटेपछि भगवान नै भेटाएको भन्दै खुशी व्यक्त गरेका छन । विरामीका श्रीमान् हर्क बहादुर रावलले आर्थिक अवस्थाकै कारण उपचार हुन्न भन्ठानेकोमा उपचार हुने भएपछि हर्षले गद् गद् बनाएको प्रतिक्रिया दिए ।