नेक्सस संकटा फुटबल आइतबारदेखि हुने

काठमाडौँ – पेप्सीकोला टाउनप्लानिङस्थित नेक्सस इन्टरनेशनल एकेडेमी र संकटा युथ क्लबको संयुक्त आयोजनामा पाँचौं नेक्सस–संकटा कप फुटबल प्रतियोगिता हुने भएको छ । ‘फुटबल फर एजुकेशन’ भन्ने नारासहित आगामी आइतबारदेखि प्रतियोगिता हुन लागेको हो । नेक्सस इन्टरनेशनल एकेडेमीले विद्यालय प्राङगणमा पत्रकार सम्मेलन गरी प्रतियोगिताको तयारी पूरा भएको जानकारी दिएको हो ।

प्रतियोगितामा १६ टिमको सहभागिता रहने नेक्ससका संस्थापक प्राचार्य आरबी कटुवालले जानकारी दिनुभयो । प्रतियोगितामा विजेता टिमले ५० हजार नगद पाउनेछन । त्यस्तै उपविजेताले २५ हजार पाउनेछ । ‘ नेक्सस संकटा युथ एकेडेमी गतवर्षदेखि नै सञ्चालन छ । खेलाडि उत्पादनमा टेवा दिइरहेको छ । अब यस प्रतियोगिताले खेलाडि उत्पादनमा थप टेवा मिल्ने हाम्रो विश्वास हो ।’ कटुवालले बताउनुभयो ।

पुरस्कार रकममा पनि आगामी प्रतियोगितामा वृद्धि गरिने उहाँले प्रतिबद्धता जनाउनुभयो । उहाँले भन्नुभयो –‘ हामी आगामी दिनमा पुरस्कार रकममा वृद्धि गर्दै लैजानेछौँ ।’ प्रतियोगिता नकआउट आधारमा हुने भएको छ । प्रतियोगिताका खेलहरु मध्यपुर थिमीस्थित मध्यपुर युथ एसोसिएसनको मैदानमा हुने प्रतियोगिताका संयोजक विवेक कटुवालले जानकारी दिनुभयो ।