प्याब्सनले देशभर भेला गर्दै, यस्तो छ तालिका

काठमाडौँ – निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन)ले यही मंसिर महिनामा पालिका, जिल्ला र प्रदेश भेला गर्ने भएको छ । प्याब्सन केन्द्रीय महासचिव आरबी कटुवालले प्याब्सनले प्रदेश भेला दुई दिन र जिल्ला र पालिका भेला एक दिन गर्न लागिएको जानकारी दिनुभयो ।

उहाँका अनुसार पालिका भेला मंसिर १७ गते जिल्ला भेला मंसिर २४ गते गरिने भएको छ । प्रदेश भेला भने छुट्टा छुट्टै हुने उहाँले जानकारी दिनुभयो । प्रदेश भेला दुई दिन हुने भएको छ । प्याब्सनले भेलामा लिडरसिप र विद्यालय व्यवस्थापनको तालिम पनि सञ्चालन गरिने भएको छ ।

प्रदेश भेला अन्तर्गत सुदुरपश्चिम प्रदेशको भेला धनगढीमा आगामी पुस १ र २ गते, कर्णाली प्रदेशको भेला सुर्खेतमा पुस ३ र ४ गते, लुम्बिनी प्रदेशको वुटवलमा पुस ६ र ७ गते, गण्डकी प्रदेशको नवलपुरमा ८ र ९ गते, बागमती प्रदेशको काठमाडौंमा १२ र १३ गते, मधेश प्रदेशको बर्दिवासमा १५ र १६ गते र प्रदेश नं.१ को इटहरीमा १७ र १८ गते हुने भएको छ ।

प्याब्सनले विद्यार्थीहरुको प्रतिभालाई उजागर गर्नका लागि देशैभर विभिन्न कार्यक्रम पनि गर्ने भएको छ । प्याब्सन महासचिव कटुवालका अनुसार प्याब्सनले देशभर प्रसिडेण्ट कप, प्याब्सन राष्ट्रिय बाल नाट्य महोत्सव र प्यब्सन आइडल सञ्चालन गरिने भएको छ । प्याब्सनका यस्ता कार्यक्रमले विद्यार्थीहरुको प्रतिभा प्रष्फूटनमा महत्वपूर्ण योगदान पुग्ने उहाँले बताउनुभयो ।