एन्फामा कर्माछिरिङको अर्को उल्लेखनीय काम : ग्रासरुट फुटबलको विकास

कुनैपनि खेलकुदको बिकाश गर्ने हो त्यसको मुख्य आधार भनेकै उमेर समुहमा धेरै भन्दा धेरै लगानी गरेर नयाँ नयाँ खेलाडी उत्पादन गर्नु नै हो । फुटबलमा पनि जुन तरिकाले राष्ट्रिय टिमको मेरुदण्डका रुपमा ए डिभिजन लिगलाई हेरिन्छ । त्यो भन्दापनि नयाँ खेलाडी उत्पादन गर्ने आधार भनेको ग्रासरुट हो । नेपालमा ग्रासरुट फुटबलको बिकाश गर्नुपर्छ भन्ने आभाष सबैलाई छ । तर यो कार्यक्रम चुस्त रुपमा बिचमा हुन सकेन ।

पूर्व अध्यक्ष गणेश थापाको पालामा यसको सुरुवात भएपनि बिचमा केहि समय रोकिएको थियो । तर कर्माछिरिङ शेर्पाको नेतृत्व आएपछि ग्रासरुटलाई मुख्य आधार मानेर कार्यक्रमहरु सुरु भएका थिए । ६ देखि १२ बर्षसम्मका बालबालिकालाई फुटबलमा संलग्न गराउने उदेश्यका साथ यो कार्यक्रमलाई तिब्रगतिमा अगाडि बढाउने लक्ष्य एन्फाको थियो । तर यही बिचमा कोभिडका कारण यो कार्यक्रम झण्डै साँढे एक बर्ष रोकिन पुग्यो । कोभिडका कारण जनजीवन निकै प्रभावित भएपछि जिल्लाहरुले यो कार्यक्रमलाई रोकेका थिए ।

एन्फालेआफ्नो मातहतमा रहेका ४८ वटै जिल्लामा ग्रासरुट फुटबलका विभिन्न कार्यक्रमहरु गरेको थियो । शेर्पाको नेतृत्वमा एन्फामा नयाँ कार्यसमिति आएपछि सुरुको एक बर्ष ग्रासरुट फुटबलले निकै गति लिएको थियो । जिल्ला जिल्लामा ग्रासरुट फुटबलका कार्यक्रम गरेर धेरै भन्दा धेरै बालबालिकालाई फुटबलमा संलग्न गराउने कामपनि भएको थियो । तर कोभिडले करिव दुई बर्ष रोकिँदा निकै प्रभावित भयो । एशियन फुटबल महासंघको सहयोगमा एन्फालेयसलाई बलियो रुपमा अगाडी बढाएको छ ।

कोभिडपछि फेरी यो कार्यक्रमलाई अझ शसक्त तरिकाले अगाडी बढाउने योजना अनुसार फेरी सुरु गरिएको थियो । एक समय थियो, यो कार्यक्रम काठमाडौंमा नै केन्द्रित थियो । तर शेर्पाको नेतृत्वमा रहेको टिमले यसलाई काठमाडौं बाहिरपनि त्यतिकै शसक्त रुपमा अगाडी बढाउनुपर्छ भनेर बिभिन्न जिल्लामा कार्यक्रमहरु गरेको थियो । कोभिडपछि मात्र एन्फाले काठमाडौंसँगै रुपन्देही, बारा, मोरङ, जुम्ला, जनकपुर, महोत्तरी, भक्तपुर लगायतका आधा दर्जन जिल्लामा यो कार्यक्रम गरेका छन्।

एक पटक एक जिल्लामो यो कार्यक्रम हुँदा करिव २० हजार बालबालिका यसमा संलग्न हुने गरेका छन । केहि बर्ष अगाडी एन्फाले यो कार्यक्रमलाई आफै गर्ने गरेको भएपनि पछिल्लो पटक यसको मोडालिटीलाई परिवर्तन गरेको छ । अहिले यदि कुनैपनि संस्था, क्लब, स्कुलहरुले ग्रासरुट फुटबल कार्यक्रम गर्ने इच्छा देखाएको खण्डमा एन्फाले ठोस खाका तयार परेको छ । जसका आधारमा उनीहरुले ग्रासरुट कार्यक्रम गर्न पाउने भएका छन ।

एन्फाले यसका लागि इन्डोर्समेन्ट फर्म तयार पारेको छ र इच्छुक संस्था, क्लब र स्कुलहरुले त्यो फर्म भरेर एन्फाबाट स्विकृती लिन पाउने ब्यवस्था गरिएको छ । एन्फाले ग्रासरुट फुटबल बिकाशका लागि एन्फा ग्रासरुट भन्ने टिम ने तयार पारेको छ । जसको मुख्य काम नै ग्रासरुट फुटबलको विकाशमा योजना बनाउने, प्रशिक्षण दिने, वर्कसप गर्ने, प्रक्रियाहरुको जानकारी दिने र स्वंयमसेवकलाई प्रशिक्षण दिने रहेको छ । नेपालमा ग्रासरुटको कार्यक्रम सफल रुपमा भएकाले पनि एएफसीले नेपाललाई ब्रन्ज मेम्बरसिप दिएको छ ।

यो मेम्बरसिप पाउने देशहरुमा नेपाल १६ देश भित्र पर्छ । एन्फामो नयाँ नेतृत्व आउने बेला मुख्य एजेन्डा नै ग्रासरुट फुटबलको बिकाश गर्ने नै हुन्छ । तर त्यो एजेन्डालाई कसरी प्रभावकारी बनाउने भन्नेकुरा बिचमा नै सेलाउने गरेको छ । जुन तरिकाले हालकोनेतृत्वले यसलाई बुझेर अगाडी बढेको छ, त्यो सबै पुरा हुन नसकेपनि आगामी दिनमा अझ प्रभावकारी बनाउने योजना कायमै छ । ग्रासरुट कार्यक्रमका लागि एन्फाले एउटा सिस्टम नै तयार पारेकोछ । जसले हरेक साताको रिपोर्ट पठाउछ र त्यो एन्फाले राख्ने गरेको छ । पछि त्यो रिपोर्ट फिफा, एएफसीमा पनि पठाइन्छ । त्यहि रिपोर्टको आधारमा एएफसीले मुल्यांकन गर्ने गरेको छ ।

ग्रासरुट फुटबल लामो रेसको घोडा जस्तै हो । जति धेरै बालबालिका लागि फुटबलमा संलग्न गराउन सक्यो, त्यति नै फुटबल खेल्ने चाहनाको विकाश गर्नु । नेपालमा फुटबल सिक्ने चाहना भएका धेरै बालबालिका छन, तर उनीहरुले उपयुक्त वाताबरण पाउन नसकेका पनि हुन सक्छन । त्यसलाई निराकरण गर्नका लागि नै ग्रासरुट फुटबल कार्यक्रम निकै प्रभावकारी बन्दै आएको छ ।

अबको लक्ष्य सिल्भर मेम्बरसिप ग्रासरुट फुटबल कार्यक्रमलाई सफल रुपमा गरेर ब्राउन्ज मेम्बरसिप पाएको एन्फाको अबको लक्ष्य सिल्भर मेम्बरसिप रहेको छ । तर त्यसका लागि चुनौती भने धेरै नै छन । यो कार्यक्रमलाई देशभर लगेर धेरै भन्दा धेरै बालबालिकालाई यसमा संलग्न गरेर चुस्त रुपमा गर्ने एन्फाको योजना छ । यसका लागि बिभिन्न २० वटा विधालाई सम्हाल्नुपर्नेछ । जसमा ग्रासरुट प्रतियोगिता, संरचना, दिर्घकालिन योजना, सहकार्य लगायतका छन । यसको अर्थ ग्रासरुट प्रशिक्षण गरेर मात्र होइन, यसमा प्रतियोगितापनि हुन आवश्यक छ । जुन एन्फाको अबको योजना रहेको छ । यसका साथै दिर्घकालिन योजना बनाएर पुर्वाधारको बिकाश र विभिन्न निकायसँग सहकार्य गर्ने रहेको छ । विभिन्न फेस्टिबलका साथै प्रतियोगिता गरेको खण्डमा ग्रासरुट फुटबलले अझ गति लिने विश्वास छ ।

यसमा अब अहिलेको नेतृत्वले स्थानीय सरकारलाई ग्रासरुट कार्यक्रममा कसरी जोड्ने भन्ने पनि गृहकार्य गरिरहेको छ । यतमात्र होइन, यो कार्यक्रमका बारेमा स्थानीय सरोकारवालासँग छलफल गरेर यसको प्रभावकारिताका बारेमापनि जानकारी गराउनेछ । स्थानीय सरकार, स्थानीय संस्थालाई यो कार्यक्रममा जोड्न सकेको खण्डमा यसलाई निरन्तरता दिनका लागि सजिलो हुन्छ भन्ने योजनाका साथ एन्फाले यो कदम अगाडी बढाएको छ ।

स्थानीय लिडरसँग भेटेर ग्रासरुट कार्यक्रमलाई निरन्तरता दिनका लागि कसरी सहयोग पुग्छ भनेर छलफल गर्न एन्फाले योजना बनाएको छ । कोभिडका कारण जुन रुपमा ग्रासरुट फुटबल कार्यक्रमले गति लिन सकेन, त्यो गतिलाई दोब्बर पार्नका लागि एन्फाको नेतृत्व तम्तयार छ । अब यो नेतृत्वको चाहना सिल्भर मेम्बरसिप नै रहेको छ । एन्फामा रहेका कतिपय पदाधिकारी ग्रासरुट फुटबलको विकाश हुन सकेन भनेर आलोचना गरिरहँदा उनीहरु आफैले यो कार्यक्रमलाई कसरी प्रभावकारी बनाउने भन्नेमा ध्यान नदिएको देखिएको छ । अहिले एन्फामा रहेका धेरै जसो पदाधिकारी मुखले अरुको आलोचना गरेपनि आफ्नो जिल्लामा ग्रासरुट फुटबललाई गर्न समेत अगाडी नआएको देखिएको छ ।