नेक्सस–संकटा फुटबल एकेडेमी शुभारम्भ

काठमाडौँ । नेक्सस – संकटा फुटबल एकवेडेमीको औपचारिक शुभारम्भ भएको छ । काठमाडौँमा एक कार्यक्रमबीच संकटाको खेल मैदानमा एकेडेमीको शुभारम्भ भएको छ । अखिल नेपाल फुटबल संघ एन्फाका अध्यक्ष कर्मा छिरिङ शेर्पा, एन्फाकै उपाध्यक्ष उपेन्द्रमान सिंह, संकटा क्लबका अध्यक्ष तथा एन्फाका उपमहासचिव ईन्द्रमान तुलाधर र नेक्सस–संकटाका अध्यक्ष आरबी कटुवालले एक कार्यक्रमबीच एकेडेमी उद्घाटन गरे ।

कार्यक्रममा एकेडेमीमा रहेका २१ खेलाडीहरुलाई किट्स वितरण गरिएको थियो । एन्फाको ‘शिक्षाका लागि फुटबल’ भन्ने नारा अन्तरगत नेक्सस–संकटा एकेडेमीको सुरुवात भएको हो । यसअघि नै पेप्सीकोलास्थित नेक्सस इन्टरनेशनल एकेडेमी र संकटा क्लबबीच एकेडेमी सञ्चालनका लागि सम्झौता भएको थियो ।

एशियाली फुटबल महासंघ(एएफसी)को कार्यक्रम अनुसार संकटाले एकेडेमी संचालनमा ल्याउन लागेको हो । एएफसीले एएफसी लाईसेन्स प्राप्त गर्न क्लबले एकेडेमी अनिवार्य संचालन गर्नु पर्ने नियम बनाएको छ ।

एकेडेमी औपचारिक उद्घाटनसँगै मैत्रीपूर्ण खेलसमेत भएको थियो । नेक्सस स्कुलले यसअघि क्रिकेट खेलाडी उत्पादनका लागि नेक्सस क्रिकेट एकेडेमी सञ्चालनमा ल्याइसकेको छ ।