देशभरका विद्यालय फेरि बन्द, बन्दको मारमा विद्यालय

काठमाडौँ । नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले गरेको नेपाल बन्दका कारण कोरोना कहरपछि भर्खरै खुल्न थालेका विद्यालय आज फेरि बन्द भएका छन । पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि फिर्ता गर्न माग गर्दै नेकपाले बन्द गरेको हो । बन्दका कारण देशभरको विद्यालयमा अध्यापन हुन सकेन ।

देशका अधिकांश भागमा निजी विद्यालय बन्द छन भने सरकारी विद्यालय खुलेपनि पठन पाठन भएको छैन । सरकारले सुरक्षाको प्रत्याभूति दिलाउन नसकेकाले विद्यालय बन्द गरिएको निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल, (प्याब्सन) का केन्द्रीय उपमहासचिव आरबी कट्वालले खुल्लापाटीलाई जानकारी दिए ।

‘पेट्रोलियम पदार्थको मुल्यवृद्धिविरुद्धको आन्दोलन जायज भएपनि शान्ति क्षेत्र विद्यालय बन्द गरेर आन्दोलन गरिएकोमा उनले दुःखेसो पोखे । कोरोनाको संकटपछि बल्ल विद्यालय खुल्न लाग्दा विद्यालय क्षेत्र बन्द नगरी अन्य विधिबाट आन्दोलनकारी आन्दोलन गरेको भए आज बन्द हुँदैनथ्यो कि ? ’ उनले बताए ।

लामो समयपछि भौतिक रुपमा विद्यालय सञ्चालन हुन थालेको बेला भएको बन्दले विद्यार्थी प्रभावित भएका छन् ।