आज राष्ट्रिय बाल दिवस, विविध कार्यक्रम गरी मनाईँदै

काठमाडौँ । आज राष्ट्रिय बाल दिवस देशभर विभिन्न कार्यक्रम आयोजना गरी दिवस मनाइँदैछ । ‘सामान्य अवस्था वा कोभिड महामारी : बालअधिकारको संरक्षण हामी सबैको जिम्मेवारी’ भन्ने नारासहित दिवस मनाउन लागिएको हो ।

नेपालले संयुक्त राष्ट्रसङ्घको बालअधिकार महासन्धिलाई २०४७ साल भदौ २९ गते अनुमोदन गरेको थियो । त्यसयता हरेक वर्ष भदौ २९ गतेलाई राष्ट्रिय बाल दिवसका रूपमा मनाइँदै आइएको छ । नेपालले बालअधिकारसम्बन्धी महासन्धि १९८९ लाई १४ सेप्टेम्बर १९९० मा अनुमोदन गरेर बालबालिकाको विकास, बालअधिकारको संरक्षण र बालसहभागिताजस्ता विषयमा आफ्नो अन्तर्राष्ट्रिय प्रतिबद्धता प्रकट गरेको दिनकै अवसरमा नेपालले हरेक वर्ष भदौ २९ गते राष्ट्रिय बाल दिवस मनाउँदै आएको छ ।

बाल दिवसका अवसरमा राष्ट्रपति, प्रधानमन्त्रीलगायतका उच्च पदस्थ व्यक्तिहरुले शुभकामना दिएका छन् ।