एन्फाको आकस्मिक बैठकको निर्णय : राजीनामा प्रकरणबारे छानबिनका लागि मन्त्रालयलाई आग्रह गर्ने

राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले अखिल नेपाल फुटबल संघ (एन्फा) का वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्बाङका कारण राजीनामा दिएको घोषणा गरेपछि उत्पन्न विवादबारे एन्फाले विभागीय मन्त्रालयलाई छानबिन गर्न आग्रह गरेको छ । आज बसेको एन्फाको आपत्कानीन कार्यसमिति बैठकले युवा तथा खेलकुद मन्त्रालयलाई यसबारे छानबिनका लागि आग्रह गर्ने निर्णय गरेको हो । बैठकपछि एन्फा प्रवक्ता किरण राईले दुवै पक्षबीच भएको समस्याबारे छानबिनका लागि मन्त्रालयलाई आग्रह गर्ने निर्णय भएको जानकारी दिए ।
मुख्य प्रशिक्षक अलमुताइरीले आइतबार सामाजिक सञ्जालमा एन्फाका वरिष्ठ उपाध्यक्ष नेम्बाङका कारण आफूले राजीनामा दिन लागेको घोषणा गरेका थिए । उनको घोषणापछि वरिष्ठ उपाध्यक्ष नेम्बाङले अलमुताइरीको आरोपका सत्यता नभएको उल्लेख गर्दै छानबिनका लागि एन्फा केन्द्रिय समितिको बैठक माग गरेका थिए ।

साफ आयोजनाका लागि ५ करोड निकासा

एन्फाले साफ आयोजनाका लागि सरकारले ५ करोड रुपैयाँ प्रदान गर्ने मन्त्री स्तरीय निर्णय गरेकोमा सरकारलाई धन्यवाद दिएको छ । त्यस्तै, साफ च्याम्पियनसिप आयोजनाका लागि १० करोड रुपैयाँ खर्च हुने अनुमान गर्दै दश करोड रुपैयाँ बराबरको विस्तृत प्रस्तावसहित साफलाई अनुरोध गर्ने पनि निर्णय गरेको छ ।

सरकारबाट आयोजनाका लागि ५ करोड रुपैयाँ श्रोत सुनिश्चितता प्रतिवद्धता पत्र प्राप्त भएको एन्फाले जनाएको छ । प्रतियोगिता आयोजना बारे अन्तिम निर्णय भने साफले नै गर्नेछ ।