को हुन् देउवाका सारथी श्रेष्ठ ?

प्रधानमन्त्री शेरबहादुर देउवाले आइतबार स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठ नियुक्त गरे । श्रेष्ठको नियुक्तिसँगै विविध टिकाटिप्पणी सुरु भएका छन । नेपाली कांग्रेसमा लामो समय राजनीति गरेकालाई गरेकालाई पन्छाउँदै प्रधानमन्त्री देउवा आफैँले राखेको स्वास्थ्य मन्त्रालयको राज्यमन्त्रीमा श्रेष्ठ नियुक्त भएसँगै उनमा काम गरेरै प्रमाणित गर्नुपर्ने चुनौती थपिएको छ । किनकी श्रेष्ठ शिक्षा क्षेत्रमा नाम चलेका व्यवसायी हुन्।

उनको जन्म २०१२ सालमा भोजपुरमा भएको हो । उनी २०४५ सालदेखि राजनीतिमा संलग्न छन् । श्रेष्ठ राजनीतिक संलग्नताको शुरूदेखि नै नेपाली कांग्रेसमा आबद्ध छन् ।

उनी पहिलो पटक दोस्रो संविधानसभामा नेपाली कांग्रेसबाट समानुपातिक सदस्य निर्वाचित भएका थिए । उनी हालको प्रतिनिधिसभामा पनि नेपाली कांग्रेसका समानुपातिक सदस्य हुन् ।

गत असार २९ गते प्रधानमन्त्री पदको जिम्मेवारी सम्हालेका शेरबहादुर देउवाले तेह्रौँ दिनमा आइतबार श्रेष्ठलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको राज्यमन्त्रीमा नियुक्त गरेका हुन् ।

श्रेष्ठ नेपालको नाम चलेका विद्यालयमध्येको एक लिटिल एन्जल्स स्कुलका संस्थापक अध्यक्ष हुन् । उक्त स्कुल सन् १९८१ मा स्थापना भएको हो । उनी निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन, नेपाल (प्याब्सन) का पूर्वअध्यक्ष समेत हुन् ।

श्रेष्ठले शिक्षासँगै चियाखेती, जलविद्युत, अस्पताल लगायतमा लगानी गरेका छन् । काठमाडौँको बालाजुमा रहेको जनमैत्री अस्पतालमा श्रेष्ठको लगानी छ । तेह्रथुममा रहेको ‘सगरमाथा टी स्टेट’ मा पनि उनको लगानी छ ।

श्रेष्ठ प्रधानमन्त्री देउवाका निकटस्थ मानिन्छन् । उनी राज्यमन्त्री पदमा नियुक्त भएपछि सामाजिक सञ्जालमा अनेक टिकाटिप्पणी भएको छ । धेरैजसो टिप्पणी नकारात्मक छन् ।

कोरोना भाइरस संक्रमण नियन्त्रण, उपचार र खोपमा प्रभावकारी रूपमा काम गर्नुपर्ने समयमा श्रेष्ठ स्वास्थ्य राज्यमन्त्री नियुक्त भएका छन् । यस्तो संवेदनशील समयमा मन्त्री नियुक्त गर्न नसकेको भन्दै प्रधानमन्त्री देउवाको आलोचना हुन थालेको थियो ।

नवनियुक्त राज्यमन्त्री श्रेष्ठले आइतबार नै कार्यभार सम्हाल्दै खोप पहिलो प्राथमिकता रहेको जनाएका छन । श्रेष्ठलाई शुभकामना दिनेले काम गरेर देखाउन सुझाव दिएका छन भने आलोचना गर्नेको मुख बन्द गर्न श्रेष्ठले शैक्षिक क्षेत्रमा जस्तै स्वास्थ्य क्षेत्रमा पनि अब्बल सावित गर्नुपर्ने चुनौती छ ।