नेक्सस स्कुलले ग-यो फुटबल एकेडेमी सञ्चालन सम्झौता

काठमाडौँ । नेपालमा पहिलोपटक पेप्सीकोलास्थित नेक्सस इन्टरनेशनल स्कुलले फुटबल एकेडेमी सञ्चालनका लागि सम्झौता गरेको छ । एसियाली फुटबल महासंघ(एएफसी)ले एएफसी लाईसेन्स प्राप्त गर्न क्लबले एकेडेमी अनिवार्य संचालन गर्नु पर्ने नियम बनाएकाले पहिलोपटक ए डिभिजन क्लब र नेक्सस स्कुलबीच एकेडेमी सञ्चालन सम्झौता भएको हो ।

अखिल नेपाल फुटबल संघ (एन्फा), संकटा क्लब र नेक्सस इन्टरनेशनल स्कुलबीच फुटबल एकेडेमी सञ्चालनका लागि मंगलबार सम्झौता भएको हो । यसअघि तीन विभागीय ए डिभिजन टोलीले फुटबल एकेडेमी सञ्चालनका लागि सम्झौता गरिसकेका छन । नेक्सस स्कुलले पनि संकटा क्लबसँग सम्झौता गरेको हो ।

मंगलबार सातदोबाटोस्थित एन्फाको कार्यालयमा भएको सम्झौतामा नेक्ससका प्रिन्सिपल आरबी कटवाल संकटा क्लबका कार्यवाहक अध्यक्ष सुरेन्द्र सिख्राकार र हाल एन्फा उपाध्यक्ष समेत रहेका युवा विकास समितिका अध्यक्ष उपेन्द्रमान सिंहले सम्झौता पत्रमा हस्ताक्षर गरे ।

सम्झौतासँगै नेक्सस–संकटा युथ फुटबल एकेडेमी संचालनमा आउने भएको छ । एकेडेमीमा पहिलो १४ खेलाडीको छनोट गरिनेछ । एकेडेमीमा संकटा क्लबका ७ र नेक्सस स्कुलका ७ जना खेलाडी रहने भएका छन । १४ खेलाडीले संकटा क्लबको मैदानमा प्रशिक्षण गर्नेछन ।

एकेडेमीमा दोस्रो वर्षबाट कुल २१ खेलाडीमध्ये संकटाले १४ खेलाडी उपलब्ध गराउने भएको छ ।

सम्झौता कार्यक्रममा एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पा, महासचिव इन्द्रमान तुलाधर, सह महासचिव अरुणमान जोशीलगायतको उपस्थित थिए । ‘फुटबल फर एडुकेशन’ को अवधारणा अनुरुप नेक्ससले एकेडेमी सञ्चालनका लागि सम्झौता गरेको नेक्ससका प्राचार्य आरबी कटुवालले  जानकारी दिए ।

कार्यक्रममा विद्यालय तह ग्रासरुटबाटै दक्ष फुटबल खेलाडि उत्पादनका लागि एकेडेमीको भूमिका महत्वपूर्ण हुने सहभागी वक्ताहरुले धारणा राखेका थिए । नेक्सस स्कुलले यसअघि क्रिकेट खेलाडी उत्पादनका लागि नेक्सस क्रिकेट एकेडेमी सञ्चालनमा ल्याइसकेको छ ।