थप ८ हजार ८५० जनामा संक्रमण, ५२ जनाको मृत्यु

नेपालमा पछिल्लो २४ घण्टामा थप ८ हजार ८५० जनामा संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पीसीआरबाट गरिएको परीक्षणमा ८ हजार ७७७ र एन्टीजेनबाट गरिएको परीक्षणमा ७३ जनामा संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार १८ हजार ७८७ जनाको पीसीआर परीक्षण गरिएको थियो भने ५०६ जनाको एन्टिजेन परीक्षण गरिएको थियो । काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा थप ४ हजार १९८ जना नयाँ संक्रमित थपिएका छन ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार संक्रमितमध्ये काठमाडौँमा ३ हजार १६१ जना, ललितपुरमा ५३३ र भक्तपुरमा ५०४ जना संक्रमित थपिएका हुन् ।

थप ५२ जनाको मृत्यु

त्यस्तै, पछिल्लो २४ घण्टामा ५२ जना कोरोना संक्रमितको निधन भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका २४ घण्टामा ५२ जनाको मृत्यु भएको हो ।

योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या ३ हजार ६ सय ८४ पुगेको मन्त्रालयले जनाएको छ ।