कोरोना अपडेट : २४ घण्टामा ९ हजार १९६ जनामा संक्रमण, करिब ३ हजार संक्रमणमुक्त

काठमाडौँ –नेपालमा पछिल्लो २४ घण्टामा ९ हजार १ सय ९६ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । देशभरका विभिन्‍न प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा ९ हजार २३ र एन्टिजेन विधिबाट गरिएको परीक्षणमा १७३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले जानकारी दिए ।

यो सहित नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या ३ लाख ७७ हजार ६०३ पुगेको छ ।

काठमाडौँ उपत्यकामा थपिए ४ हजार १०६ जना संक्रमित

प्रवक्ता गौतमका अनुसार काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप ४ हजार १०६ जनामा संक्रमित थपिएका छन । काठमाडौंमा ३ हजार ८९, भक्तपुरमा ३७४ र ललितपुरमा ६४३ जनामा संक्रमण देखिएको हो ।

२ हजार ९०५ जना कोरोना संक्रमित संक्रमणमुक्त

त्यस्तै, पछिल्लो २४ घण्टामा थप २ हजार ९०५ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन् । देशभरका विभिन्न अस्पतालमा कोरोना संक्रमणपछि उपचाररत उनीहरुमा संक्रमण निको भएपछि डिस्चार्ज गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले जानकारी दिए ।

यससँगै कोरोना संक्रमणमुक्त हुनेको संख्या २ लाख ९५ हजार ३९५ पुगेको छ ।

२४ घण्टामा ५० जनाको कोरोनाका कारण मृत्यु

प्रवक्ता गौतमले पछिल्लो २४ घण्टामा ५० जना कोरोना संक्रमितको मृत्यु भएको जानकारी दिए । देशभरका विभिन्न अस्पतालमा उपचाररत कोरोना संक्रमितको मृत्यु भएको हो । योसँगै हालसम्म कोरोनाले ज्यान गुमाउनेको संख्या ३ हजार ५७९ पुगेको मन्त्रालयले जानकारी दिएको छ ।