५६ जिल्लामा निषेधाज्ञा जारी

आजदेखि थप चार जिल्लामा निषेधाज्ञा लागू भएको छ । यससँगै निषेधाज्ञा जारी गरिएका जिल्ला ५६ पुगेको गृह मन्त्रालयले जनाएको छ । आजदेखि बारा र सिरहामा पूर्णरुपमा निषेधाज्ञा लगाइएको छ भने बाग्लुङ र सिन्धुपाल्चोकमा सङ्क्रमणको जोखिम भएका ठाउँहरुमा निषेधाज्ञा लगाइएको गृह मन्त्रालयले जनाएको छ ।

सिरहा र बारामा विहान ६ बजेदेखि अर्को आदेश जारी नभएसम्मका लागि निषेधाज्ञा लगाइएको छ । बाग्लुङको ढोरपाटन र गलकोट नगरपालिका तथा बडिगाड र निसीखोला गाउँपालिकामा निषेधाज्ञा लगाइएको हो ।

सिन्धुपाल्चोकमा अरनिको राजमार्ग अन्तर्गत बनदेउदेखि तातोपानीसम्म, खाडीचौरदेखि ठूलोपाखर हुँदै मुडे सडकखण्डको जिल्लाभित्र, बनदेउदेखि चौतारा हुँदै स्याउलेसम्म, जिरोकिलो हुँदै बाहुनेपाटी–सिपाघाट मेलम्ची–हेलम्बुको केउल सडकखण्डमा दायाँ बायाँ पाँच–पाँच सय मिटरसम्म निषेधाज्ञा लगाइएको छ । त्यस्तै, चौतारा साँगाचोकगढी नगरपालिकाको वडा नम्बर ४, ५ र ९, मेलम्ची नगरपालिका वडा नम्बर ११, बलेफी गाउँपालिकाको केही ठाउँमा बिहान ६ बजेदेखि निषेधाज्ञा सुरु भएको छ ।

अहिलेसम्म देशभर पूर्ण र आंशिक गरी ५६ वटा जिल्लामा निषेधाज्ञा लगाइएको गृह मन्त्रालयले जनाएको छ ।