कोरोना संक्रमितको उपचार र परीक्षण खर्च अबदेखि आफैँ व्यहोर्नुपर्ने

काठमाडौँ- कोरोना संक्रमणबारेको परीक्षण र उपचार अबदेखि आफ्नै खर्चमा गर्नुपर्ने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता जागेश्वर गौतमले अवदेखि सबै सरकारी तथा निजी अस्पतालले कोरोना परीक्षण तथा उपचारका लागि शुल्क लिइने जानकारी दिए ।

यसअघि सरकारले कोरोना संक्रमितको निःशुल्क परीक्षण तथा उपचार गर्दै आएको थियो । आर्थिकरुपमा विपन्न, अशक्त, असहाय अवस्थामा रहेका नागरिक, अग्रपङ्तिमा खटिने स्वास्थ्यकर्मी, सुरक्षाकर्मीलगायत जोखिम क्षेत्रमा काम गर्ने कर्मचारीमा लक्षण भएमा मात्र सरकारले निःशुल्क उपचार गर्ने भएको छ ।

त्यस्तै कोरोना बीमा गरेको छ भने बीमाबाटै खर्च गर्ने निर्णय भएको छ । यसअघि भने सरकारले संक्रमितको निस्शुल्क परीक्षण तथा उपचार गर्दै आएको थियो। त्यस्तै सरकारले सबै निजी, सामुदायिक तथा मेडिकल कलेज तथा सरकारी अस्पतालले कुल शैय्याको ५० प्रतिशत शैय्या कोभिडका बिरामीका लागि छुट्याउन निर्देशन दिएको छ ।

लक्षण नभएका कोरोना संक्रमितलाई अस्पतालबाट १० दिनमा डिस्चार्ज गर्ने निर्णय समेत सरकारले गरेको छ । डिस्चार्ज भएपछि एक साता अनिवार्य होम आइसोलेसनमा बस्नुपर्ने मन्त्रालयले जनाएको छ । यसअघि चौध दिनमा डिस्चार्ज गर्ने नियम बनाइएको थियो ।

कोरोनाको उपचारका लागि रेम्डिसिभिर औषधि मन्त्रालयमा सूचीकृत अस्पतालहरूको फार्मेसीबाट विक्री वितरण गर्ने व्यवस्था पनि मन्त्रालयले मिलाएको छ । कोरोना परीक्षण गर्ने प्रयोगशालाहरुलाई दसैंमा नबमी, दशमी र एकादशी तीन दिनबाहेक नियमित सेवा सञ्चालन गर्न पनि मन्त्रालयले निर्देशन दिएको छ ।