दशैँघरमा जमरा राखियो

काठमाडौँ -घटस्थापनाको अवसरमा काठमाडौंको बसन्तुरमा रहेको दशैंघरमा जमरा राखिएको छ । नेपाली सेनाको टोलीले मंगल धुन बजाएर बढाईं गरेसँगै विहान ११ बजेर ४६ मिनेटको शुभसाइतमा जमरा राखिएको हो ।

कोरोनाका कारण यो वर्ष केही समस्या भएपनि स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर जमरा राखिएको हो । दशैँ घरमा वैदिक विधिअनुसार जमरा राखी दुर्गा देवीको पूजा आराधना शुरु भएको छ ।

नवदुर्गाको पूजा प्रारम्भ

आजैदेखि दशैँ घरमा शक्तिकी देवी नवदुर्गाको पूजा आरम्भ हुन्छ । नवरात्रको पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौं दिन स्कन्दमाता, छैठौं दिन कात्यायनी, सातौं दिन कालरात्री, आठौं दिन महागौरी र नवौं दिन सिद्धिदात्रीको पूजा आराधना गरिन्छ ।