बाँके, दाङ र रुपन्देहीमा तीन कोरोना संक्रमितको मृत्यु

काठमाडौँ – बाँके, दाङ र रूपन्देहीका तीन कोरोना संक्रमितको मृत्यु भएको छ । कोहलपुर नगरपालिका–९ पिपरीका ३८ वर्षीय पुरूषको शुक्रबार राति ११ बजे भेरी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए ।

यही असोज १३ गते कोहलपुर मेडिकल कलेजमा भर्ना भएका संक्रमित ती पुरूषलाई भेन्टिलेटरको आवश्यकता परेपछि शुक्रबार राति १० भेरी अस्पतालमा रिफर गरिएको थियो । भेरी अस्पताल पुर्‍याइएको १ घण्टाभित्रै उनको मृत्यु भएको श्रेष्ठले बताए ।

यस्तै दाङको घोराही उपमहानगरपालिका ३ का १५ वर्षीय किशोरको पनि उपचारका क्रममा मृत्यु भएको छ । दाङको घोराहीबाट उपचारका लागि शिक्षण अस्पताल कोहलपुरमा भर्ना भएका १५ वर्षीय किशोरको उपचारका क्रममा शुक्रबार राति करिब नौ बजेतिर मृत्यु भएको उनले जानकारी दिए ।

यो सहित बाँकेमा कोरोना सङ्क्रमणबाट निधन हुनेको सङ्ख्या २४ पुगेको छ भने बाहिरी जिल्लाबाट उपचारको क्रममा बाँकेमा आई मृत्यु हुनेको सङ्ख्या १२ पुगेको छ ।

यस्तै रुपन्देहीको शुद्धोधन गाउँपालिका–६ का ५७ वर्षीय पुरुषको कोरोना विशेष अस्पताल बुटवलमा शुक्रबार दिउँसो मृत्यु भएको हो । असोज १९ गते कोरोना पुष्टि भएपछि उनको कोरोना विशेष अस्पतालमा उपचार थालिएकोमा शुक्रबार दिउँसो मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले बताए ।

यो सँगै रुपन्देहीमा कोरोना संक्रमित मृतकको संख्या ३४ पुगेको छ ।