ला लिगामा बार्सिलोनाको दोस्रो जित

काठमाडौँ – बार्सिलोनाले स्पेनिस ला लिगामा लगातार दोस्रो जित हात पारेको छ । बार्सिलोनाले सेल्टा डि भिगोमाथि सहज जित हात पारेको छ । लगातार दोस्रो जित दर्ता गर्ने क्रममा १० खेलाडीमा समेटिएको बार्सिलोनाले सेल्टालाई उसकै मैदानमा ३–० ले हराएको हो ।

एवान्का बलाईडोस भिगोमा बिहीबार राति भएको खेलमा बार्सिलोनका लागि युवा स्टार अन्सु फाती र सर्जियो रोबर्टोले गोल गर्दा एक गोल उपहार पाएको थियो ।

११औं मिनेटमा अन्सु फातीले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाए । उनले फिलिपे कौटिन्होको पासमा दुई डिफेन्डरबीचबाट गोल गर्न सफल भएका थिए ।

४२औं मिनेटमा बार्सिलोना १० खेलाडीमा समेटियो । डेनिस सुआरेजमाथि फल गरेपछि डिफेन्डर क्लेमेन्ट लेङ्लेट दोहोरो पहेँलो कार्ड खादै मैदानबाट बाहिरिए ।

तर पनि बार्सिलोनाले खेलमा दबाब कायमै राख्यो । ५१औं मिनेटमा लुकास ओलाजाले आत्मघाती गोल गरेपछि बार्सिलोनाले खेलमा २–० को अग्रता लिन सफल भयो ।

पेनाल्टी बक्सभित्रबाट कप्तान लियोनेल मेस्सीले गरेको प्रहार लुकास ओलाजालाई डिफ्लेक्ट हुदै क्लोज रेन्जबाट गोलमा परिणत भएको थियो ।

५५औं मिनेटमा मेस्सीको पासमा फाती चुके । ५९औं मिनेटमा मेस्सीले गोल गरे पनि भिएआरबाट मान्यता पाएन । उनी अफसाइड पोजिसनमा देखिएका थिए ।

इन्ज्युरी समयको थप गरिएको पाँचौ मिनेटमा सर्जी रोबर्टोले गोल गर्दै बार्सिलोनालाई ३–० को सहज जित दिलाए ।

जितसँगै बार्सिलोनाको दुई खेलबाट ६ अंक जोडेर बार्सिलोना पाँचौ स्थानमा उक्लिएको छ । पराजित सेल्टा ५ अंक जोडेर ११औं स्थानमा रहेको छ ।