कोरोना उपचाररत क्याप्टेन विजय लामाले हस्पिटलको बेडबाट के भने ?

काठमाडौँ – कोरोना भाइरसको संक्रमणपछि स्टार अस्पतालमा उपचाररत नेपाल एयरलाइन्सका वरिष्ठ क्याप्टेन विजय लामाले कोरोना संक्रमणलाई सामान्य रुपमा भने नलिन आग्रह गरेका छन् ।

सामाजिक सञ्जाल फेसबुकमार्फत उनले आफ्नो स्वास्थ्यमा उल्लेख्य सुधार भएको जानकारी दिँदै उनले चाँडै उडान भर्दै बिदेशमा रहेका नेपालीहरुलाई फर्काउने बताएका छन् ।

उनले फेसबुकमा लेखेका छन्, ‘एकदम जटिल अवस्थाबाट पार भै पुनः स्वस्थ बन्दै छु । अबको केही दिनपछि डिस्चार्ज हुने आशा राखेको छु ।’

उनले लेखेका छन्, ‘रगतको नमूना पनि लगेन, नास्ता पनि खाइयो, कमजोरीपनको कतै लक्षण छैन, राति निन्द्रा पनि राम्रै लाग्यो, डाक्टर साबको भनाइ अनुसार मेरो इन्फेक्सन लेभल पनि घटेको अवस्था छ ।’

आफ्नो स्वास्थ्य सुधार हुनुको श्रेय उनले चिकित्सकहरूलाई दिएका छन् । यो सम्भव हुनुको पछाडि अस्पतालका सम्पूर्ण टोलीको योगदान रहेको भन्दै आफ्नो उपचारमा खटिएकाहरुलाई धन्यवाद पनि दिएका छन् ।

कोरोनालाई हल्का रुपमा नलिन र आफ्नो सुरक्षामा नचुक्न सबैलाई उनले आग्रह गरेका छन् । उनले लेखेका छन्, ‘मेरो विनम्र अनुरोध सबैमा बिन्ती छ, यो कोभिडलाई हल्का नलिनु होला । आफ्नो सुरक्षामा कतै नचुक्नु होला । यो सामान्य रोग होइन । यसले ज्यान लिन सक्छ ।’