इस्टुद्धारा चरणबद्ध आन्दोलन घोषणा

काठमाडौँ – संस्थागत विद्यालय शिक्षक युनियन (ईस्टु) ले खाइपाइ आएको तलबसुविधाको माग गर्दै चरणबद्ध आन्दोलन घोषणा गरेको छ । आज काठमाडौंमा पत्रकार सम्मेलन गरी इस्टुले आन्दोलनका कारणा सार्वजनिक गरेको हो । तलब सुविधा दिन माग गर्दै इस्टुले स्थानीय सरकार र प्याब्सन एनप्याब्सनमा ज्ञापनपत्र बुझाउने भएको छ ।

असोज ९ गतेसम्म सबै महानगरपालिका, उप–महानगरपालिका, नगरपालिका र सम्भव भएसम्म सबै गाउँपािलकाहरुमा पूनः ज्ञापनपत्र बुझाउने र प्याब्सन, एन–प्याब्सनलाई स्मरणपत्र पनि बुझाउने पत्रकार सम्मेलनमा इस्टुका अध्यक्ष होमकुमार थापाले जानकारी दिए ।

इस्टुले माग पूरा गराउन असोज ११ देखि १३ सम्म मानव संसाधन विकास केन्द्र, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र श्रम मन्त्रालयलाई पनि आग्रह गरेको छ । ईस्टुका अध्यक्ष थापाले निजी विद्यालयहरूमा काम गर्ने शिक्षक/कर्मचारीहरूलाई अहिलेसम्मको खाईपाई आएको तलब सुविधा यथाशक्य चाँडो प्रदान गरिनुपर्ने बताए ।

पत्रकार सम्मेलनमा नेपाल शिक्षक महासंघका अध्यक्ष बाबुराम थापाले शिक्षक कर्मचारीहरूका हकअधिकार सुनिश्चितता गरिनुपर्ने र ऐन नियम र कानूनमा भएका प्रावधानहरु अक्षरंश पालना गरिनुपर्नेमा जोड दिए ।