विद्यालय तहका लागि पाठ्यवस्तु समायोजन ढाँचा स्वीकृत, वैशाखमा अन्तिम परीक्षा

काठमाडौँ – राष्ट्रिय पाठ्यक्रम विकास तथा मुल्याकंन परिषद्ले विद्यालय तहका लागि पाठ्यबस्तु समायोजन ढाँचा स्वीकृत गरेको छ । कोरोना भाइरस (कोभिड – १९) महामारीमा सिकाइ सहजीकरणका लागि पाठ्यवस्तु समायोजन ढाँचा, २०७७ र नेपालको भू–भाग र सीमासम्बन्धी स्वाध्याय पुस्तिका सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले पाठ्यवस्तु समायोजन भएको जानकारी दिए।

मन्त्री पोखरेलले वैकल्पिक उपायको अवलम्बन गर्न विद्यार्थीमा पाठ्यक्रमले तोकेका न्यूनतम सिकाइ उपलब्धिहरू हासिल हुने गरी आफ्नो परिवेशअनुकूल सिक्ने वातावरण सिर्जना गर्न र दूर तथा खुला शिक्षालगायतका प्रणालीलाई तत्कालका लागि सिकाइ सहजीकरणको मूल प्रणालीका रूपमा लागु गरी नियमित विद्यालय सञ्चालन हुन सक्ने अवस्थामा समेत यस प्रणालीलाई पूरक वा समानान्तर प्रणालीका रूपमा प्रयोग गर्नसमेत मौजुदा पाठ्यक्रमका पाठ्यवस्तुलाई समायोजन गर्नुपर्ने आवश्यकता रहेको बताए ।

विद्यार्थीको न्यूनतम सिकाइ उपलब्धि सुनिश्चित हुने गरी विद्यार्थीको सिकाइलाई निरन्तरता दिने र पाठ्यक्रमका पाठ्यवस्तु समायोजन हुँदा प्रयोग गर्न सकिने सिकाइ सहजीकरण विधि र सिकाइ उपलब्धिको मूल्याङ्कनका उपाय सुझाउने उद्देश्यले पाठ्वस्तु समायोजन ढाँचा, २०७७ तयार गरिएको मन्त्री पोखरेलले जानकारी दिए।

भर्चुअल पत्रकार सम्मेलनमा सीमासम्बन्धी स्वाध्याय पुस्तिकासमेत सार्वजनिक गरिएको थियो । नेपालको नयाँ नक्सासहितको सो सामग्री कक्षा ६ देखि १२ सम्मका विद्यार्थीका लागि निःशुल्क वितरण गरिनेछ ।