सार्वजनिक सवारी, हवाइ उडान खुला, शैक्षिक संस्था अनिश्चितकालिन बन्द

काठमाडौँ – सरकारले शैक्षिक संस्था, ट्युसन सेन्टर, परीक्षा सञ्चालन, सबै प्रकारका गोष्ठी, तालिम आदि अर्को सूचना नआएसम्म बन्द नै राख्‍ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले यी सेवाहरू अनिश्चितकालसम्म बन्द राख्ने निर्णय गरेको सरकारका प्रवक्ता परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले जानकारी दिए ।

“सबै प्रकारका प्रदर्शन भेला, सिनेमा हल, डान्सबार, सार्वजनिक स्थल, सैलुनहरू, व्युटी पार्लर, मसाज तथा स्पा सेन्टर, स्विमिङ पुल, जिमखाना, समूहमा खेलिने खेल, मैदानमा हुने प्रशिक्षण, अन्तर्राष्ट्रिय खेलकुद प्रशिक्षण, प्रारम्भिक चरणका खेलहरू, सबै प्रकारका धार्मिक क्षेत्र, चिडियाखाना, पुस्तकालय अर्को निर्णय भएपछि मात्रै सञ्चालन हुनेछन्,” मन्त्री ज्ञवालीको भनाइ थियो ।

सार्वजनिक यातायात असोज १ गतेदेखि नै खुला

सरकारले कोरोनाका कारण लामो समयदेखि जारी बन्दाबन्दीलाई थप खुकुलो बनाउने निर्णय गरेको छ । मन्त्रीपरिषदले छ महिनादेखि बन्द यातायात र हवाइ सेवा सञ्चालन गर्ने निर्णय गरेको हो । सरकारले असोज एक गते देखि नै लामो दूरीको सार्वजनिक यातायात खुला गर्ने निर्णय गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद्ले बुधबारदेखि लामो दूरीकाका सवारी साधन खोल्ने निर्णय भएको परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले जानकारी दिएका हुन । सरकारले तोकिएको भाडामा अधिकतम पचास प्रतिशत बढीसम्म भाग लिन पाउने निर्णय पनि गरेको छ । यात्रु राख्दा क्षमताको पचास प्रतिशतमात्र राख्नुपर्ने नियम बनाइएको छ ।

सरकारले सीमा नाका असोज तीस गतेसम्म बन्द गर्ने निर्णय गरेको छ । भदौ एकतिस गतेसम्म रोक लगाइएको सीमा नाकालाई थप एक महिना बन्द गर्ने निर्णय मन्त्रीपरिषदले गरेको हो । नेपाल भारतबाट नेपाल प्रवेश गर्ने इलामको पशुपतिनगर र दार्चुलाको खलंगा पुलको दुई नाका खुला गर्ने निर्णय पनि भएको छ ।

यसअघि नै सरकारले दश नाका खुला गर्ने निर्णय गरिसकेको छ । त्यस्तै चीनतर्फको रसुवागढी नाका पनि खुला गर्ने निर्णय सरकारले गरेको छ । सरकारले अन्तरिक हवाई उडान र होटल रेष्टुरेन्टहरु पनि असोज एक गतेबाटै खुला गर्ने भएको छ । विमानमा सिट क्षमताको आधा मात्र यात्रु राख्नुपर्ने नियम बनाइएको छ ।

त्यस्तै नेपालमा सञ्चालित विभिन्न परियोजनाका लागि आवश्यक पर्ने जनशक्ति विदेशबाट ल्याउन खुला गर्ने निर्णय पनि सरकारले गरेको छ । त्यसका लागि ७२ घण्टाभित्रको पीसीआर, आडीटी नेगेटिभ भएको प्रमाण पेस गर्नुपर्नेछ ।