कोरोनाबाट थप ५ जनाको मृत्यु, संक्रमित ५० हजार नाघे

काठमाडौँ – कोरोना भाइरस (कोभिड–१९) का कारण संक्रमितको संख्या ५० हजार नाघेको छ । विहीबार थप १२४६ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या ५० हजार ४६५ पुगेको हो ।

देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप १२४६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयको नियमित लाइभ अपडेटमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले जानकारी दिए । नेपालमा कोरोनाभाइरस संक्रमणबाट निको हुनेको संख्या ३५ हजार ७०० पुगेको छ । पछिल्लो २४ घन्टामा १८१८ जना डिस्चार्ज भएका छन् ।

काठमाडौँ उपत्यकामा थपिए ५७२ जना

मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा ५७२ जना कोरोना संक्रमित थपिएका छन् । मन्त्रालयको नियमित लाइभ अपडेटमा प्रवक्ता डा. गौतमले काठमाडौंमा ४९५, भक्तपुरमा ३४ र ललितपुरमा ४३ जना नयाँ संक्रमित थपिएका जानकारी दिनुभयो ।

थप ५ जनाको मृत्यु

यसैबीच, नेपालमा आज थप ५ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ ।

डा. गौतमका अनुसार काठमाडौका ५५ वर्षीय एक महिला र ५९, ८३ वर्षीय एक एक पुरुष, चितवनका ६२ वर्षीय पुरुष, कपिलबस्तुका २९ वर्षीय एक पुरुषको निधन भएको छ ।

योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या ३१७ पुगेको छ ।