शिक्षकमाथि छात्रा बलात्कारको आरोप

बैतडी – बैतडीमा एक शिक्षकमाथि आफ्नै विद्यालयकी छात्रा बलात्कार गरेको आरोप लागेको छ । बलात्कृत किशोरी अर्कै ठाउँमा भागेर बिहे गरेको ६ महिनामै छोरी जन्मिएपछि यो कुरा बाहिर आएको हो।

सिगास गाउँपालिका ८ को जनचेतना आधारभूत विद्यालयमा अध्ययनरत कक्षा ८ की १७ वर्षीया छात्रालाई सोही विद्यालयका शिक्षक खडक बोहरा, केशव बोहरा र स्थानीय रामबहादुर बोहरामाथि बलत्कारको आरोप लागेको हो ।

केशव बोहरा अहिले विद्यालय छोडेर गाउँपालिकामा कार्यरत रहेको बुझिएको छ । तीनैजनाले ती किशोरीलाई पटकपटक बलात्कार गरेकाले भागेर बिहे गर्न बाध्य बनाएको किशोरीका आफन्तले आरोप लगाएका छन् ।

६ महिनामै छोरी जन्मिएपछि किशोरीलाई घरका मानिसले सोधपुछ गर्दा आफूलाई ती व्यक्तिहरुले बलात्कार गरेको किशोरीले आफन्तलाई बताएकी छिन्। जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक नारायणप्रसाद अधिकारीले पीडित किशोरीलाई जिल्ला सदरमुकाममा ल्याउने तयारी भएको र किशोरीसँगको बयानपछि मात्रै घटनाका बारेमा थाहा हुने बताए ।

उनले भने, ‘यो कुरा बाहिर आइसकेपछि हामीले यो घटनालाई सुक्ष्मरुपमा अध्ययन गरिरहेका छौं । किशोरीको सुरक्षाका लागि पनि जिल्लामा ल्याउने तयारी गरेमा छौं । संलग्न भनिएका मान्छेहरुको पनि खोजी भइरहेको छ।’

किशोरीलाई ललाइफकाइ गरेर करणी भएको हुनसक्ने भन्दै कानुनअनुसार कारवाही हुने प्रहरी नायव उपरीक्षक अधिकारीले बताए । मुलुकी अपराध संहिता २०७४ को परिच्छेद १८ मा १८ वर्षभन्दा कम उमेरका महिलालाई ललाइ फकाइ वा महिलाको मञ्जुरी लिएर करणी गरेमा समेत कानुनी कारवाही उल्लेख छ ।

कानुन अनुसार त्यस्तो कार्यमा संलग्न व्यक्तिलाई सोह्र वर्ष वा सोह्र वर्षभन्दा बढी अठार वर्षभन्दा कम उमेरकी महिलामाथि करणी गरेमा दश वर्षदेखि बाह्र वर्षसम्म कैद सजाय हुने उल्लेख छ।

भगीरथ अवस्थीले अन्नपूर्णपोष्टमा खबर लेखेका छन् ।