मेस्सीलाई अर्को क्लब जान बार्सिलोनाले बाटो खुला

एजेन्सी –अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीलाई अर्को क्लब जान बार्सिलोनाले बाटो खुला गरेको छ । तर, त्यसका लागि उनी आवद्ध हुने अर्को क्लवले बार्सिलोनालाई ७ सय मिलियन युरो अर्थात ९७ अर्ब ७५ करोड ७१ लाख रुपैयाँ भन्दाबढी तिर्न पर्ने सर्त राखिएको छ ।

स्पेनिस ला लिगाले आइतबार मेस्सी अनुबन्ध गर्ने क्लबले बार्सिलोनालाई ७ सय मिलियन युरो रिलिज क्लज तिर्नु पर्ने जनाएको छ ।

एक विज्ञप्ति निकाल्दै ला लिगाले मेस्सीले क्लब छाड्न चाहेमा क्लबलाई सम्झौता अनुसारको रिलिज क्लज तिर्नु पर्ने बताएको छ । ला लिगाको निर्णयसँगै मेस्सीले फ्रि ट्रान्सफर र बार्सिलोनाको अनुमति बिना क्याम्प नाउ छाड्न नपाउने भएका छन् ।

तर, ७ सय मिलियन युरो रिलिज क्लज तिर्न सफल भएमा मेस्सीले बार्सिलोनाको सहमति बिनासमेत क्लब छाड्न पाउने छन् ।

मेस्सीले गत साता क्लबलाई पत्र लेख्दै क्लब छाड्ने बताइसकेका छन् । तर, बार्सिलोनाले भने यस समर ट्रान्सफरमा मेस्सीले क्लब छाड्न नसक्ने बताउँदै आएको छ ।