काठमाडौँमा निषेधाज्ञा एक साताका लागि लम्बियो

काठमाडौँ – काठमाडौं उपत्यकामा निषेधाज्ञा थप एक साता थप भएको छ । काठमाडौ, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले निषेधाज्ञा थप एक हप्ता बढाउने निर्णय गरेको हो । भदौ ३ को मध्यरातदेखि जारी निषेधाज्ञा बुधवार मध्यराति सकिने भएपछि तीनै जिल्लाका प्रजिअको आजको बैठकले निषेधाज्ञा लम्ब्याएको काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी जीवनप्रसाद दुलालले जानकारी दिए ।

अब काठमाडौं उपत्यकामा भदौ १७ गते मध्यरातसम्म निषेधाज्ञा जारी रहनेछ । कोरोना संक्रमितको दर दैनिक बढिरहेको भन्दै मंगलबार काठमाडौंका मेयरहरुले काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहाललाई निषेधाज्ञा लम्ब्याउन सुझाव दिएका थिए । संक्रामक रोग ऐन–०२० को दफा २ र स्थानीय प्रशासन ऐन–०२८ को दफा ६ (३) अनुसार जिल्ला सुरक्षा समितिको निर्णय अनुसार प्रमुख जिल्ला अधिकारीलाई निषेधाज्ञा जारी गर्ने अधिकार छ ।

थप गरिएको निषेधाज्ञा अवधिमा आईसोलेशन सेन्टर बढाउने, कन्ट्याक्ट ट्रेसिङ र टेष्टको दायरा बढाउने स्थानीय प्रशासनले निर्णय गरेको छ ।

निषेधाज्ञा लगाइएको अवधिमा औषधि, खाद्यवस्तु र अत्यावश्यकीय वस्तु खरिदको कामबाहेक बाहिर निस्कन पाइने छैन । बाहिर निस्किँदा मास्क अनिवार्य लगाउनुपर्नेछ ।

अत्यावश्यकीय सामाग्री ढुवानी, स्वास्थ्यकर्मी र सुरक्षा निकायबाहेक सवारी सञ्चालनमा रोक लगाइएको छ ।

नियमित सेवा प्रदान गर्नुपर्ने कार्यालय जाने कर्मचारी विहान ९ बजेदेखि साढे १० बजेसम्म र बेलुका ३ देखि साढे ५ बजेसम्म आउजाउ गर्न सक्नेछन् ।

होटल, रेष्टुरेन्ट, फुटपाथ पसलसमेत बन्द हुनेछन् । बैंक लगायतका निकायले न्यूनतम कर्मचारी राखेर स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गरी सेवा दिन सक्नेछन् ।