एन्फाले माग्यो ११ कोर्षका लागि आवेदन, अनलाइनमार्फत दिन सकिने

काठमाडौँ – अखिल नेपाल फुटबल संघ (एन्फा) ले फुटबल प्रशिक्षकका लागि लाइसेन्सिङ कोर्ष देखि गोलकिपिङ कोचिङ लगायतका विभिन्न ११ कोर्षका लागि आवेदन माग गरेको छ । सन २०२०/२०२१का लागि सञ्चालन गर्ने विभिन्न कोचिङ कोर्षका लागि आवेदन माग गरेको हो ।

एन्फाले सञ्चालन गर्ने विभिन्न कोचिङ कोर्ष सहित एफसी स्पेसियल कोर्षहरुको सुची सार्वजनिक गर्दै एन्फाले अनलाइन मार्फतै आवेदन माग गरेको हो । एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पाले एन्फाले सन २०२०/२०२१ का लागि सञ्चालन गर्ने ११ वटा विभिन्न कोर्षका लागि आवेदन माग गरिएको जानकारी दिए ।

“हामी नेपाली फुटबलको प्राविधिक पाटोलाई वलियो बनाउँदै फुटबलको विकास गर्न चाहन्छौ । प्राविधिक पक्षलाई वलियो बनायो भने मात्रै खेलाडी उत्पादन सँगै विश्व फुटबलका नयाँ प्राविधिक पक्षको ज्ञान खेलाडीमा बाँढन सकिने र नेपाली फुटबललाई अझै आर्कषक बनाएर लैजान सकिन्छ । ” उनले बताए ।

एन्फाको कोर्ष सञ्चालन गर्ने प्रमुख सञ्जित सिंहले धेरै भन्दा धेरै खेलाडी र प्रशिक्षकहरुलाई कार्यक्रममा सहभागी गराउन लागिएको बताए । “हामीले सवै जिल्ला र प्रदेशहरुमा यसवारे सूचना दिएका छौं सकभर कोही पनि नछुटोस भन्ने हाम्रो चाहना हो,” उनले बताए ।

एन्फाले एन्फा ग्रास रुट कोचिङ कोर्ष, कम्युनिटी कोचिङ कोर्ष एन्फा डि लाइसेन्स, एन्फा/एफसि लाइसेन्स कोचिङ कोर्ष, एन्फा/एफसी बि लाइसेन्स कोचिङ कोर्ष, एन्फा/एफसी ए लाइसेन्स कोर्ष, एन्फा एडभान्स युथ कोचिङ कोर्ष लगायत माग गरेको छ ।

त्यसैगरी  एफसी स्पेसियल कोचिङ कोर्षहरुमा एफसी फिटनेस लेभल वन ए कोचिङ कोर्ष, एफसी फिटनेस लेभल वन वि कोचिङ कोर्ष, एफसी लेभल वन गोल किपिङ कोचिङ कोर्ष, गोलिकिपङ लेभल टु कोचिङ कोर्ष, एफसी फुटसल लेभल वन कोचिङ कोर्षहरु रहेको अध्यक्ष शेर्पाले जानकारी दिए ।

आवेदन मागिएका सवै कोर्षहरु २०२० अक्टोवर देखि २०२१ डिसेम्वर सम्म तय गरिएका छन ।