हालसम्मकै बढी कोरोना संक्रमित भेटिएपछि काठमाडौँ उपत्यकामा बुधबार रातिदेखि लकडाउन

काठमाडौँ – काठमाडौं उपत्यकामा बुधबार बेलुका १२ बजेदेखि फेरि लकडाउन गरिने भएको छ । उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारी र सुरक्षा प्रमुखहरुको बैठकले भदौ ३ गते बुधबार रातिदेखि १० गतेसम्म लकडाउन गर्ने निर्णय गरेका हुन् ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंमा बसेको काठमाडौं, भक्तपुर र ललितपुरका जिल्लाका सुरक्षा समितिको बैठकले उपत्यकामा दिन प्रतिदिन कोरोना संक्रमण बढ्दै गएपछि एक साताका लागि लकडाउन लागू गर्ने निर्णय गरेको हो।

सरकारले निषेधाज्ञा लागू गर्ने अधिकार प्रमुख जिल्ला अधिकारीलाई दिए पनि केन्द्रीय राजधानी भएकाले गृह मन्त्रालयको स्वीकृतीमा लकडाउन गरिएको हो। लकडाउन अवधिमा खाद्यान्न ढुवानी, स्वास्थ्य सेवा र सुरक्षाजस्ता अत्यावश्यक सेवा बाहेकका सवारी संचालन गर्न पाइने छैन भने सर्वसाधारणको आवतजावतलाई पनि निषेध गरिनेछ ।

मंगलबार मात्रै मुलुकभर हालसम्मकै सबैभन्दा बढी १ हजारबढी कोरोना संक्रमित भेटिएका छन् । मंगलबार काठमाडौंमा १३८, भक्तपुरमा १७ र ललितपुरमा ५० जना नयाँ संक्रमित थपिएका हुन् । यससँगै देशभर आज १०१६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमितको संख्या २८ हजार २५७ पुगिसकेको छ ।