काठमाडौँ उपत्यकामा आजदेखि यस्ता कुरा गर्न निषेध, अटेर गरे कारबाही

काठमाडौँ – कोरोना संक्रमित दैनिक बढ्दै गएपछि काठमाडौँ उपत्यकामा जिल्ला प्रशासन कार्यालयले थप कडाइ गरेको छ । काठमाडौं उपत्यकाका तीनवटै जिल्लाका प्रशासन कार्यालयहरुले सार्वजनिक स्थलमा भेला हुन, प्रदर्शन गर्न र पारिवारिक जमघटमा पनि रोक लगाएका छन् ।

शुक्रबार काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले खुला स्थानमा भेला हुने, भिडभाड गर्ने र सभाजुलुस गर्न रोकेको हो । साउन ३० गते राति १२ बजेदेखि भदौ १५ गते राति १२ बजेसम्मको लागि सो प्रतिबन्ध लगाइएको तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीले शुक्रबार साँझ जारी गरेको छुट्टाछुट्टै आदेशमा उल्लेख गरिएको छ ।

यस्तै भिडभाड हुने गतिविधि जस्तै जात्रा, महोत्सव सञ्चालन गर्न पनि रोक लगाइएको छ । शैक्षिक संस्थाहरू सञ्चालनमा पूर्ण रोक लगाइएको छ । सबै प्रकारका सभा, गोष्ठी, तालिम, सेमिनार, सिनेमाहल, पार्टी प्यालेस, मनोरञ्जन स्थल, सैलुन, ब्युटी पार्लर, स्पा, स्विमिङ पुल, जिमखाना, खेलकुद र खेल प्रस्तुति तथा पुस्तकालय सञ्चालनमा पनि रोक लगाइएको छ ।