त्रिविका परीक्षा अवस्था सामान्य भएपछि मात्र हुने, जिम्मा डिन कार्यालयहरुलाई

काठमाडौँ – त्रिभुवन विश्वविद्यालयले तत्काल परीक्षा सञ्चालन नगर्ने भएको छ । त्रिविले सामान्य अवस्था भए मात्र परीक्षा चलाउने भएको छ । कोभिड –१९ को सङ्क्रमण बढ्न थालेपछि त्रिविले तत्काल परीक्षा नगर्ने भएको परीक्षा नियन्त्रण कार्यालय (पनिका) का परीक्षा नियन्त्रक पुष्पराज जोशीले जानकारी दिए ।

यसअघि बन्दाबन्दी खुलेसँगै पनिकाले आगामी भदौ १६ गतेदेखि सेमेष्टर र असोजको पहिलो हप्तादेखि वार्षिक परीक्षाको तयारी गरेको थियो । “हामीले स्थिति सहज भएपछि परीक्षाको तयारी गरेका थियौँ”, उनले भने, “ तर अहिले फेरि सङ्क्रमण बढिरहेको छ । त्यसैले परीक्षा गर्ने तयारी गरे पनि पुनः स्थगन गरेका छौँ ।”

परीक्षा नियन्त्रक जोशीले अब हुने परीक्षाको जिम्मा डीन कार्यालयलाई दिइएको जानकारी दिए । “कस्तो अवस्थामा परीक्षा गर्ने नगर्ने भन्ने जिम्मा डीन कार्यालयलाई दिएका छौँ”, उनले भने, “ सामान्य अवस्था भए पनि डीन कार्यालय नै परीक्षाको तयारी गर्ने छ । ”