कोरोना संक्रमण बढेपछि सप्तरीमा आजदेखि निषेधाज्ञा

काठमाडौँ – कोरोना संक्रमण बढेपछि सप्तरीमा आजदेखि एक साताका लागि निषेधाज्ञा जारी गरिएको छ । सप्तरी जिल्ला प्रशासन कार्यालयले जारी गरेको विज्ञप्तिअनुसार आज बिहान ५ बजेदेखि साउन २६ गते साँझ ५ बजेसम्मका लागि निषेधाज्ञा जारी रहनेछ ।

जिल्ला सुरक्षा समितिको सोमबारको बैठकले निर्णय गरेपछि बिहानदेखि सप्तरीमा निषेधाज्ञा लागू भएको हो । सप्तरीका प्रमुख जिल्ला अधिकारी शङ्करहरि आचार्यले सप्तरी जिल्लाभरिमा हालसम्म ५३१ जनामा कोरोना सङ्क्रमण भेटिएपछि राजविराजसहित सप्तरी जिल्लाभरि बिहान ५ बजेदेखि निषेधाज्ञा जारी गरिएको जानकारी दिए ।

निषेधित क्षेत्रमा अत्यावश्यक कामबाहेकका सम्पूर्ण आवतजावत, सवारीसाधन, पसल बन्द रहनेछन् ।दिनप्रतिदिन कोरोना संक्रमण तीव्र बन्दै गएपछि अहिले प्रदेश २ का विभिन्न जिल्लाले धमाधम निषेधाज्ञा जारी गरिरहेका छन् । यसअघि बारा र पर्साले अनिश्चिकालका लागि निषेधाज्ञा लागू गरिसकेका छन् ।