किन फेर्नुपर्छ जनै ? यस्तो छ शास्त्रीय मान्यता

हरेक वर्षको श्रावण शुक्लपक्षको पूर्णिमालाई जनैपूर्णिमा वा डोरो पूर्णिमा भन्ने गरिन्छ जनैपूर्णिमाका चारपक्ष रहेका छन् , श्रावणी स्नान, यज्ञोपवीत धारण , रक्षाबन्धन र ऋषि तर्पणी , प्राचीन वैदिक कालखण्ड देखि मनाउँदै आएको श्रावण शुक्ल पूर्णिमामा, विधिवत् ढंगबाट शास्त्रीय मर्यादाले मन्त्रिएको नयाँ जनै तथा रक्षासूत्र डोरो लगाएर जनैपूर्णिमा वा रक्षाबन्धन पर्व मनाउने गरिन्छ ।
स्नान र तर्पणको महत्त्व —
” पौर्णमास्यां श्रावणस्य स्नानकर्म समाचरेत् “
ऋषि तर्पणकं कुर्यात् ब्राह्मणस्य प्रपूजनम्
पौर्णमास्यां दक्षहस्ते कङ्कणं धारयेत्तुवै ।
श्रावण महिनाको पूर्णिमाको दिन स्नानकर्म ऋषितर्पण र पूजा समेत गरि द्विजातिले यज्ञोपवीत र रक्षासूत्र विधिपूर्वक वैदिक मन्त्र द्वारा शोधन गरि काँधमा जनै र हातमा डोरो लगाउने गर्दछन् , साथै अभिमन्त्रित रक्षासूत्र ब्राह्मणद्वारा सबै यजमानका हातमा लगाइदिने परम्परा चलिआएको छ ।

बर्षदिन सम्म हुनगएको त्रुटिजन्य प्रत्यवाय शान्तिको निमित्त उपाकर्म र उत्सर्जन कर्म गर्नुपर्छ । बिहानै उठी पञ्चगब्य प्राशन गरि विविध आयुर्वेदिक अौषधीहरु जस्तै – कुश, दूबो, अपामार्ग, तिल, जौ, शुद्ध माटो , सप्तमृत्तिका, गाईको गोवर, खरानी र भस्म आदिले पोखरी, ताल, तलाउ, कुवा , नदी ,नाला , तीर्थ वा जलाशयमा गएर वैदिक मन्त्रद्वारा शरीरमा लगाई स्नान गर्ने वैदिक परम्परा रहिआएको छ । यसलाई श्रावणी स्नान वा गण स्नान पनि भनिन्छ ।

श्रावणी स्नान के हो ?
पवित्र तीर्थ वा नदी तलाउमा डुबुल्की लगाउनु वा अवगाहन गर्नु श्रावणी स्नानहो , मनका तमाम बासना हरुलाई नदीमा विसर्जन गर्नु श्रावणी स्नान हो , मनका दुर्भावना ,दुर्व्यशनहरु लाई नदीमा बगाउनु श्रावणी स्नान हो महासंकल्प पूर्वक , मनले दृढता पूर्वक गरिने कर्मनै महा संकल्प हो,

आफ्नो सम्पूर्ण ज्ञात अज्ञात पापहरु र दुष्कर्म प्रति पश्चाताप पूर्वक प्रायश्चित गर्दै – नयाँ दिनको सुरुवात गर्नु वा उदात्त भावनाका साथ नयाँ चेतनामूलक दिनको सुरुवात गर्नु वास्तविक श्रावणी स्नान हो , शरीरका विकारहरुको साथ साथै मनका कुनामा लुकेर रहेका विकार ,नराम्रा भावना , द्वेष , ईर्ष्या , र रागहरु लाई धोइ पखाल गर्ने महान प्रकृया हो । एउटा महान मार्ग हो ,आफ्नो मनका ताप र पापहरु नराम्रा बानी व्योहोराहरुलाई पखाल्ने महान प्रक्रिया हो , मन र तन लाई शुद्धिकरण गर्ने बाटो हो ।

शरीरको रोग र मनको रोग पखाल्ने वैदिक प्रक्रिया हो , आफूले आफैंलाई नयाँ दिशा र ज्ञानको मार्गमा अवलम्बन गराउने महान पर्व हो , जुन बाटोमा ऋषिमुनी हिडे आफ्ना पितापुर्खा हिडे त्यहीँ मोक्षको बाटोमा हिड्ने महासंकल्पको पर्व हो , यहीँ हो श्रावणी महास्नान भनेको ।

यदि मन शुद्धि भएन भने शरीर मात्र धोएर केगर्ने , शरीर धोईयो मन धोइएन भने के लाभ? त्यसैले त भनिएको छ ,मन नैत हो सबैथोक गराउने ।

मन एव मनुष्याणां कारणं बन्धमोक्षयोः।
बन्धाय विषयासंगो मुक्त्यै निर्विषयं मनः ॥
यसरी तन र मन शुद्ध गरि जौ, तिल र कुशद्वारा देवता, ऋषि र पितृहरुलाई तर्पण गरी वैदिक रुद्राभिषेक पद्धतिबाट मन्त्रिएको नयाँ जनै फेरिन्छ, र सप्तऋषि कश्यप, अत्रि, भारद्वाज, विश्वामित्र, गौतम,जमदग्नि ,वशिष्ठ र अरुन्धती सहित सप्तऋषिलाई पूजा एवं तर्पण गर्ने भएकाले आजको दिनलाई ऋषितर्पणी पनि भन्ने गरिएको छ ।

ऋषिहरुको जीवनशैली जीवनपद्धति र मानवलाई प्रदत्त सामाजिक मान मर्यादा र ज्ञान एवम् सफल जीवन मार्गको शिक्षा दीक्षा प्रदान गर्ने ऋषिहरुको स्मरण गरि मान सम्मानमा ऋषि तर्पण गरि अभिमन्त्रित जनै धारण गरेर धार्मिक तथा पवित्रकार्य सम्पादन गरिन्छ , यो एउटा कर्तव्यबोधको पवित्र पर्व हो ।

यज्ञोपवीतको सम्बन्धमा

तन्तु त्रयं त्रिरावृत्तं तत्त्रयं तत्द्वयं तथा ।।तीन सुता भएको धागालाइ नछिनालीकन संकलन गरेर बराबर पारेर बाटी त्यसलाई तीन भागमा बनाई बाट्दा नौ डोरा हुन्छ ।

जनैमा रहने तीनवटा शिखाका नौवटा धागो डोरा मध्ये एउटा शिखामा रहेका तीन डोरालाई ,, ब्रह्मा, विष्णु र महेश्वर अर्को तीनमा कर्म , उपासन र ज्ञानयोग र अर्कोमा ऋषिऋण, पितृऋण र देवऋणको प्रतीक र सूचक मानिन्छन् ।यसैगरी सत्व, रज, तमको र ब्रह्मचर्य, गृहस्थ र वानप्रस्थ तीन आश्रमको पनि प्रतीक र सूचक मानिन्छ, संन्यास आश्रममा यज्ञोपवीत लाई विसर्जन गरिन्छ । यसले गर्दा सदैव दायित्व र कर्तव्यबोधको बाटोमा डोर्याइ असल पथिक बनाउनेछ भन्ने मान्यता स्थापित छ ।

जनैको नौसूतामा भिन्न भिन्न नौ देवताको बास र अधिष्ठान छ।

ॐकारः प्रथमे तन्तौ द्वितीयेऽग्नि स्तथैवच ।
तृतीये नागदैवत्यं चतुर्थे सोमदेवता ।।
पञ्चमे पितृदैवत्यं षष्ठे चैव प्रजापति ।
सप्तमे मारुतश्चैव ह्यष्टमे सूर्य एव च ।।
सर्वे देवास्तु नवम इत्येतास्तन्तु देवता:।
ब्रह्मणोत्पादितं सूत्रं विष्णुना त्रिगुणी कृतम् ।
रुद्रेण दत्तो ग्रन्थिर्वै सावित्र्या चाभिमन्त्रितम् ।।

ती देवताहरुका पनि नौ गुण रहेका छन् जस्तै
पहिलो देवता ॐ कारको गुणहो ब्रहज्ञान, दोस्रो अग्नि देवको गुणहो तेज, तेस्रो अनन्त देवको गुणहो धैर्य, चौथो चन्द्रदेवको गुणहो शान्ति शीतलता , पाँचौ पितृदेवको गुणहो स्नेहशीलता, छैठौं प्रजापति देवताको गुणहो प्रजापालन, सातौं वायुदेवको गुणहो बल, अाठौं सूर्यदेवको गुणहो प्रकाश , नवौं सर्वदेवताको गुणहो सात्विकता 

यी गुणहरुको प्रतीक मानिने यज्ञोपवीत लाई ब्रह्माले सूत्र पैदा गर्नुभो, विष्णु ले तीनगुना गर्नुभो , शिवजीले गांठो पार्नुभो, र सावित्रीले अभिमन्त्रित गर्नुभयो , यस्तो पवित्र यज्ञोपवीत विधिपूर्वक पूजा गरि धारण गर्नाले सम्पूर्ण उक्त गुणहरुले भूषित हुन जान्छ भन्ने विश्वास गरिन्छ ।

जनै शब्दको अर्थ जनाउनु अथवा जानकारी दिनु हुन जान्छ। अत: जनै धारण गर्ने व्यक्तिको लागि अन्य व्यक्तिलाई जनैले धेरै कुराहरूको जानकारी दिई रहेको हुन्छ। जस्तै:- जनै धारण गरेको व्यक्ति हिन्दू हो भन्ने जनाउने गर्छ, जनैमा गाँठो लगाउँदा छुट्टा छुट्टै गोत्र र पर्वर अनुशारको गाँठो दिईन्छ यसरी जनैको गाँठो देखेर जनै धारकको गोत्र र पर्वरको जानकारी जनैले दिन्छ ।

यस्तै धेरै कुराको जानकारी गराउने जनै पौराणिक कालमा सुनको बनाउने गरिन्थ्यो कालान्तरमा चाँदीको र अहिले आएर धागोको बनाउन थालिएको भन्ने भनाई रहेको छ। जनै धारण गर्दा नाभी भन्दा माथी अथवा तल हुन हुदैन ठिक्क नाभी सम्म मात्र हुनु पर्छ भन्ने शास्त्रहरूको मान्यता रहेको छ।

सुद्ध जमिनमा उम्रेको कपास लाई सधवा ब्राह्मणी (ब्राह्मण को पत्नी)ले कातेको धागोको जनै बनाएर जनैपूर्णिमाको दिन वैदिक मन्त्र द्वारा पूजा गरिएको जनै धारण गर्नु पर्ने कुरा शास्त्रहरूमा उल्लेख गरिएको छ।

बाल्यकाल पश्चात् विधिपूर्वक व्रतबन्ध कर्म सम्पन्न गरेर गुरुद्वारा गायत्रीमन्त्र प्रदान गरे पछि , एउटा निष्ठामय धर्म र सत्यको बाटो अवलम्बन गर्ने दृढ संकल्प लिएर देब्रे कांधमाथि पर्ने गरि दाहिने हातबाट छिराई गुरुले मन्त्रेर तयार पारेको जनै ग्रहण गरिन्छ हिन्दुधर्मका वैदिकग्रन्थ अनुसार जनैलाई ब्रह्मसूत्र अर्थात वेदोक्तकर्म सम्पादन गर्न र वेदअध्ययन गर्ने अधिकार प्राप्तिका लागि धारणगर्न मन्त्रिएको धागो हो।

वैदिक सनातन वर्णाश्रमधर्म मान्ने हरूले ब्रतबन्ध गरेका दिनदेखि प्रत्येक दिन त्रिसन्ध्या गायत्री जाप गर्नु पर्छ र आजको दिन नयाँ यज्ञोपवित धारण गर्नु पर्छ। धार्मिक शास्त्रअनुसार मनमस्तिष्क र चित्त शुद्धिका लागि व्रतबन्ध गरिन्छ। शरीरमा रहेका सूक्ष्म विन्दुहरूमा स्पर्श गर्दै नाभीसम्म जाने कपासको सूत्र धारण गर्न हवन, यज्ञ, मन्त्रपाठ आदि गरी ब्राह्मणले जनै लगाइदिन्छन् । दर्शन अनुसार जनैलाई ब्रह्मसूत्र अर्थात ज्ञानको धागो पनि भनिन्छ ।

रक्षाबन्धनको सम्बन्धमा – –
सत्ययुगमा दानवद्वारा लखेटिएका देवगणलाई गुरु वृहस्पतिले रक्षा विधान तयार गरी जोगाएका तथा वामनअवतार विष्णुले राजा बलिलाई डोरो बाँधी वचनबद्ध गराएर तीनै लोक लिएको धार्मिक विश्वासको आधारमा चलेको रक्षाबन्धनको परम्परा आज पनि प्रचलित छ ।
सोही कारण रक्षाबन्धन गर्ने बेलामा गुरु पुरोहितहरूले 

येन बद्धो बलिराजा दानवेन्द्रो महाबल:
तेन त्वां प्रतिबध्नामि रक्षेमा चलमा चल ।।

भनि रक्षासूत्र, रक्षाबन्धन अथवा डोरो बाँध्ने वैदिक परम्परा रहेको छ । त्यस्तै गरी यस दिन बाँधिने रक्षाबन्धन पनि रक्षाकै खातिर बाँधिने अभिमन्त्रित डोरो हो । एक अन्य शास्त्र कथा अनुसार जब यमदूतले आफ्नो बहिनी यमुनासंग राखी बांध्ने समयमा भनेका हुन्छन् कि जसले यस पवित्रताको राखी बांध्दछ उ यमदूतको सजाय अथवा भयबाट मुक्त हुन सक्दछ ।

यो पर्व भारतमा अलगै प्रकारले मनाईन्छ । यस दिन दिदीबहिनीहरूले आफ्नो भाईको हातमा पवित्र धागो रक्षाबन्धन(राखी)बाँधेर, टिका लगाएर मिठाई खुवाउछन्। भाईले पनि दिदीबहिनी लाई केही उपहार दिई भाइ बहिनीको प्रेम अमर रहोस् भन्ने कामना गर्दछन् रक्षाबन्धन हिन्दू धर्मालम्बीहरुले मनाउने र भाइबहिनीबीचको अटुट प्रेमलाई दर्शाउने एउटा पवित्र पर्व हो ।