प्याब्सन/एनप्याब्सनले गरे अनलाइन कक्षाका लागि एनसेलसँग साझेदारी

काठमाडौँ – निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) र एनप्याब्सनले अनलाइन कक्षा सञ्चालनमा अभिभावकहरुलाई राहत दिनेगरी एनसेलसँग सम्झौता गरेका छन । कोरोनाभाइरसको महामारीले गर्दा विद्यालयहरु बन्द भई अध्ययन अध्यापनमा असर परिरहेको हालको अवस्थामा एनसेलसँग न्युन शुल्कमा डाटा खरिद सहकार्यले विद्यार्थी, शिक्षक/शिक्षिका र विद्यालयलाई मोबाइल ब्रोडव्याण्डमा पहुँच सुनिश्चित गर्ने र तथा अनलाइनक कक्षा सञ्चालन सहज हुने दुवै भएको छ ।

यस मासिक योजनामा विद्यार्थी तथा शिक्षक/शिक्षिकाले भ्वाइस, डेटा र एसएमएसको बन्डल सेवा प्राप्त गर्ने भएका छन । विद्यार्थीले कर बाहेक मासिक रु २५० मा अनलाइन कक्षाका लागि आवश्यक पर्ने जुम, गुगल मिट र माइक्रोसफ्ट टिम्स प्रयोगका लागि २० जिबी डेटा, १ जिबी थ्रिजी÷फोरजी डेटा, २ जिबी फोरजी डेटा, सीयूजी नम्बरमा कल गर्न हरेक दिन १२० मिनेट टकटाइम, ५० मिनेट अन नेट टकटाइम र ५० अन नेट एसएमएस प्राप्त गर्न सक्नेछन् ।

सम्झौताबारे एनसेलका चीफ कमर्सियल अफिसर प्रदीप श्रीवास्तवले भन्नुभयो– “कोभिड–१९ ले शिक्षा क्षेत्र लगायत सबै क्षेत्रमा असर पारेको छ । साथै अध्ययन अध्यापनमा इन्टरनेट प्रविधिको प्रयोग बढेको छ । हामीसबै विस्तारै अबको ‘न्यु नर्मल’ सँग अभ्यस्त भइरहेका बेलामा दूरशिक्षा आवश्यकता बनेको छ र यसले प्रविधि र अनलाइन शिक्षाको महत्व स्पष्ट रुपमा दर्शाएको छ । देशको शिक्षा क्षेत्रमा डिजिटाइजेसन र इ–लर्निङमा योगदान पुर्याउनका लागि एनप्याब्सन र प्याब्सनसँग सहकार्य गर्ने अवसर पाएकोमा हामी हर्षित छौं ।”

“कोभिड–१९ ले निम्ताएको यस महामारीले हालको शिक्षण प्रणालीलाई नाटकीय ढंगले परिवर्तन गरिदिएको छ र सिकाइका लागि विश्वव्यापी रुपमानै भर्चुअल लर्निङ्को ट्रेन्ड अप्रत्याशित रुपमा बढेको छ । यो सहकार्यले विद्यालयहरुलाई सरकारले हालका लागि भर्चुअल रुपमा नै कक्षाहरु संचालन गर्ने नीतिमा सहयोग पुर्याउने कुरामा हामी विश्वस्त छौं ,” प्याब्सनका अध्यक्ष टीकाराम पुरीले बताउनुभयो ।

प्याब्सन र एनप्याब्सन दुवै संस्थाले यो सहकार्यले विद्यार्थीहरुलाई डिजिटल माध्यमबाट इ–लर्निङमा सहयोग पुग्ने प्याब्सन ई लर्निङ कार्यक्रम संयोजक एवं प्याब्सन केन्द्रीय उपाध्यक्ष दीपिका थापा रिमालले खुल्लापाटीलाई जानकारी दिनुभयो ।

त्यस्तै एनप्याब्सनका अध्यक्ष, ऋतु राज सापकोटाले विद्यालयहरुमा पठनपाठन कहिले देखि संचालन हुने निश्चित नभएको हालको अवस्थामा अनलाइन माध्यमबाट विद्यार्थी र शिक्षक/शिक्षिकालाई अध्ययन अध्यापनमा सहयोग पुर्याउनका लागि एनसेलसँग यस विशेष योजनामा हातेमालो गर्न पाउँदा खुसी भएको बताउनुभयो ।

यस सहकार्यअनुसार एनप्याब्सन र प्याब्सनको सिफारिस पत्रका आधारमा सम्बन्धित विद्यालयका विद्यार्थी, शिक्षक/शिक्षिकाहरूले यो योजनाबाट फाइदा लिन सक्छन् । सिमको स्वामित्व विद्यार्थी वा सम्बन्धित शैक्षिक संस्थाको नाममा राख्न सकिनेछ ।