कोरोना सङ्क्रमणबाट पछिल्लो चौबीस घण्टामा तीनजनाको मृत्यु

काठमाडौँ – नेपालमा कोरोनाभाइरसको सङ्क्रमणबाट मृत्यु हुनेको संख्या ४८ पुगेको छ । आइतबार र सोमबार गरी तीन जना नयाँ सङ्क्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो चौबीस घण्टामा कोरोना सङ्क्रमणले तीनजनाको मृत्युको जानकारी दिनुभयो । काठमाडौंको महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा सोमबार बिहान एक जना सङ्क्रमित वृद्धको मृत्यु भएको छ । बाराको फेटा गाउँपालिका–३ निवासी ६० वर्षीय वृद्धको सङ्क्रमणले मृत्यु भएको उहाँले बताउनुभयो ।

त्यस्तै धनुषा र पर्साको बिरगञ्ज गरी दुईजनाको पछिल्लो चौबीस घण्टामा मृत्यु भएको छ । धनुषाको शहीदनगर नगरपालिका–८ डुमरियाका ३६ वर्षीय युवाको कोरोना सङ्क्रमणबाट मृत्यु भएको प्रवक्ता डा. गौतमले बताउनुभयो ।

बिरगञ्ज महानगरपालिका वडा नं १० का ६५ वर्षीय एक वृद्धको आइतबार बिहान कोरोना सङ्क्रमणबाट मृत्यु भएको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको छ ।

६५ वर्षीय वृद्धको गण्डक अस्पताल बिरगञ्जमा उपचारका लागि भर्ना गराइएकोमा मृत्यु उपचारकै क्रममा मृत्यु भएको प्रवक्ता डा. गौतमले बताउनुभयो ।