१५ जिल्लामा भारी वर्षा, सतर्क रहन अनुरोध

काठमाडौँ – दुईवटा मौसमी प्रणाली सक्रिय रहँदा आज बिहानैदेखि विभिन्न १५ जिल्लामा भारी वर्षा भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार झापा, मोरङ, सुनसरी, सप्तरी, चितवन, धादिङ, तनहुँ, स्याङ्जा, कास्की, तनहुँ, पाल्पा, गुल्मी, नवलपरासी, रूपन्देही र कपिलवस्तुका केही स्थानमा भारी वर्षा भएको छ ।

ती क्षेत्रमा भारी वर्षापछि स–साना खोलामा आकस्मिक बहाव हुनुका साथै कमजोर भिरालो जमिनमा पहिरो जाने जोखिम रहेकाले सतर्क रहन बाढी सूचना केन्द्रले अनुरोध गरेको छ । यस्तै तीनाउ नदी बुटवलको बाढी मापन केन्द्रमा जलसतह सतर्कता तह पार गरेकाले कञ्चनखोला, तिनाउ नदीको तटीय क्षेत्र आसपासका साना खोलामा बाढी आउन सक्ने भएकाले सतर्क रहन पनि आह्वान गरिएको छ ।

मनसुन सक्रिय भएसँगै देशको धेरै जसो स्थानहरुमा हल्का देखि मध्यम वर्षा र केही स्थानहरुमा भारी वर्षा हुने सम्भावना रहेकाले सतर्क रहन विभागले आह्वान गरेको छ।