मनसुनी वायु सक्रिय, अधिकांश स्थानमा लगातार वर्षा

काठमाडौँ – मनसुनी वायु सक्रिय रहँदा रातिदेखि मुलुकका अधिकांश स्थानमा लागातार वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार रातिदेखि मुलुकका अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

एकाध ठाउँमा भने भारी वर्षा पनि मापन गरिएको छ । बारा, पर्सा र रौतहटका धेरै स्थानमा भारी वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । ती क्षेत्रमा थप वर्षाको सम्भावना रहेकाले लालबकैया र अन्य साना नदीमा आकस्मिक बाढी आउन सक्ने भन्दै विभागले एसएमएसमार्फत पनि सन्देश पठाएर अलर्ट गराएको छ ।

विभागले त्यस क्षेत्रका नदी किनार र डुवान भईरहने होचा स्थानमा दिउँसो सम्म सतर्क अपनाउँन आग्रह गरेको छ । पश्चिम राप्ती, बाँकेको ढेकरी र आसपास भारी वर्षा भएको तथा थप वर्षा हुन सक्ने भएकाले डुडवा खोला, राप्ती नदी आसपासका क्षेत्रमा पनि सतर्क रहन आह्वान गरिएको छ ।

त्यस्तै, डडेल्धुरा जिल्ला रंघुन–पन्टुरागाड नदीजलाधारमा अति भारी वर्षा मापन भएपछि विभागले एसएमएस पठाएर अलर्ट गराएको छ । त्यस क्षेत्रमा थप बर्षा हुने भएकाले रंघुनको महाकाली दोभान सम्मको क्षेत्रमा खतरा आसपासको बाढीको सम्भावना भएकाले तटीय क्षेत्रमा उच्च सतर्कताका लागि आह्वान गरिएको विभागले जनाएको छ ।

विभागले सोमबार बिहान ६ बजे जारी गरेको तीन दिनको मौसम पूर्वानुमान बुलेटिनअनुसार मुलुकभर बुधबारसम्म वर्षा भइरहने पूर्वानुमान गरिएको छ ।