चार हजार हेक्टर धानबाली डुब्यो

काठमाडौँ –असार अन्तिम साता अविरल वर्षाका कारण आएको बाढीले सप्तरी र सिराहाको करिब चार हजार हेक्टर धानबाली डुबानमा परेको छ । रोपाइँ सकिनै लाग्दा शुरु भएको वर्षा र बाढीले सप्तरी र सिरहामा करिब दुई/दुई हजार धानबाली डुबानमा परेको कृषि ज्ञान केन्द्र राजविराजले जनाएको छ ।

सप्तरीको तिलाठी कोइलाडी, छिन्नमस्ता, राजगढ, विष्णुपुर, बलान बिहुल गाउँपालिका, हनुमाननगर कङ्कालिनी, डाकनेश्वरी, सप्तकोशी नगरपालिकामा लगाएको धानबाली डुबानमा परेको छ ।

केन्द्रको अध्ययन परीक्षण तथा तथ्याङ्क शाखाका कृषि अर्थविज्ञ किसनदेव राउतले सप्तरी र सिरहामा ९० देखि ९५ प्रतिशत धान रोपाइँ भइसकेका बेला लगातारको वर्षासहित आएको बाढीले धानबाली डुबाएको बताउनुभयो । सप्तकोशी, खाँडो, त्रियुगा, महुली, बलान, खडक, जितालगायत खोलाको बाढी धानबालीमा पसेको राउतले बताउनुभयो ।

यसैगरी, सिरहामा कमला, मैनावतीलगायत नदीको बाढीले भगवानपुर, नवराजपुर, वरियारपट्टि, औरही, सिरहालगायत नेपाल–भारत सीमा क्षेत्रका स्थानीय तहको धानबाली डुबानमा परेको राउतले जानकारी दिनुभयो ।

साउनको दोस्रो सातासम्म वर्षा नभए बाली नबिग्रिने र उत्पादन बढ्ने राउतले जनाउनुभयो । लगातार डुबानमा परिरहे बीउ कुहिने धान उत्पादन नहुने उहाँको भनाइ छ ।

सप्तरीमा ६२ हजार ८०० हेक्टर र सिरहामा ५४ हजार हेक्टरमा धानबाली लगाउने गरिएको छ ।

यस वर्ष सप्तरीमा सरदर प्रतिहेक्टर तीन मेट्रिक टन र सिरहामा सरदर दुई दशमलव आठ मेट्रिक टन धान उत्पादन हुने अध्ययन परीक्षण तथा तथ्याङ्क शाखाको अनुमान छ ।

अघिल्लो वर्ष सप्तरी र सिरहामा लगभग प्रतिहेक्टर दुई दशमलव ५५ मेट्रिक टनको अनुपातमा धान उत्पादन भएको थियो ।