रोजीरोटी खोसियो, तीन दिनभित्र निर्णय फिर्ता लिनुस् : इस्टु

काठमाडौँ – निजी विद्यालयका शिक्षकहरुको साझा संस्था संस्थागत विद्यालय शिक्षक युनियन (इस्टु)ले अनलाइन लगायतका कक्षा बन्द गरेर शिक्षक कर्मचारीलाई बेतलबी घरबिदा दिने प्याब्सन र एनप्याब्सनको निर्णयले स्तब्ध बनाएको भन्दै निर्णय फिर्ता लिन अपिल गरेको छ ।

आज एक विज्ञप्ति जारी गर्दै इस्टुले प्याब्सन र एनप्याब्सनको यस निर्णयले रोजीरोटी खोसिएको तथा पेटमा लात हान्ने काम गरेको भन्दै तीन दिनभित्र निर्णय फिर्ता लिन अपिल गरेको छ । लकडाउनका कारण सिर्जित समस्याको सरोकारवालाहरुबीच छलफल गरेर निकास निकाल्नुपर्नेमा लकडाउनको बहानामा गरी एकतिर तलब नदिएको र अर्को तिर रोजीरोटी खोसेको इस्टुको भनाइ छ ।

दुवै संगठनको यस्तो निर्णयले देशभरका दुई लाख बढी शिक्षक, कर्मचारीको पेटमा लात हानेको तथा बालबालिकाको पढ्न पाउने अधिकार समेत खोसिएको विज्ञप्तिमा उल्लेख छ ।

विज्ञप्तिमा ६ महिनादेखि निजीका शिक्षक कर्मचारीले तलब नपाएकाले तलब भुक्तानीमा ध्यान दिन इस्टुले आग्रह गरेको छ ।