प्रारम्भिक कक्षा पढाइलाई परियोजनामा नभई राष्ट्रिय कार्यक्रममै चलाउन सुझाब

काठमाडौं– शब्द पढ्ने र बोध गर्ने बालबालिकाको पठन क्षमता बढाउन प्रारम्भिक कक्षा पढाइ कार्यक्रम (इजिआरपी) लाई परियोजनाभन्दा सरकारकै राष्ट्रिय कार्यक्रमको नियन्त्रण रहनेगरी सञ्चालन गर्न विज्ञहरुले सुझाब दिएका छन् ।

यसलाई राष्ट्रिय प्रारम्भिक कक्षा पढाइ कार्यक्रम (एनइजिआरपी)भित्र समावेश गर्यो भने मात्र सिकाइ उपलब्धिले गति लिने उनीहरुको धारणा छ ।

शिक्षा पत्रकार समूहद्वारा सोमबार आयोजित ‘प्रारम्भिक कक्षा पढाइः लगानी र उपलब्धि’ विषयक भर्चुअल संवाद कार्यक्रम शिक्षाबारमा शिक्षाविद् डा. विष्णु कार्कीले भन्नुभयो, ‘परियोजनालाई लामो अवधिमा नलगी राष्ट्रिय प्रणालीमा लैजानु पर्थ्यो । एकपछि अर्को प्रोजेक्ट आइदियो ।’

उहाँले प्रोजेक्ट सानो स्केलमा राष्ट्रिय प्रारम्भिक कक्षा पढाइ कार्यक्रम आइदिएको भए उपलब्धि पनि अहिलेको भन्दा बढी आउँनेथ्यो भन्नुभयो । ‘प्रोजेक्टले नियन्त्रणमुखी वातावरण बनाउँछ । यसले उपलब्धिमा असर पार्छ,’ डा. कार्कीको भनाइ छ, ‘शुरुमै प्रोजेक्ट कार्यान्वयन थालिएकाले राष्ट्रिय कार्यक्रमले एउटा र इजिआरपी प्रोजेक्टले अर्को इन्ट्रेस्ट बोकेर गएको देखियो ।’

डा. कार्कीले मातृभाषामा भन्दा पनि नेपालीमा शुरुदेखि नै गरेको भए मैथिली, भोजपुरीलगायतमा सजिलो पर्थ्यो भन्नुभयो । ‘शुरुदेखि गति नबढ्नु यो पनि एउटा कारण हो,’ उहाँले भन्नुभयो । प्रारम्भिक कक्षा पढाइमा अझैपनि नेपाल शुरुकै चरणमा रहेको अझ १५ वर्ष यो आवश्यक रहेको उहाँको भनाइ छ ।

अमेरिकी सहयोग नियोग युएसआइडीको आर्थिक सहयोगमा नेपाल सरकारकै रेखदेखमा सन् २०१५–२०२० सम्म देशभर १६ जिल्लामा प्रारम्भिक कक्षा पढाइ कार्यक्रम अर्थात् ‘इजिआरपी’ परियोजनाको अवधि सकिएको छ । पहिलो र दोस्रो चरणगरी यही जुलाईभित्र सकिने यस परियोजनाका लागि ६३.८ मिलियन अमेरिकी डलर छुट्याइएको थियो ।

तर, परियोजना सम्पन्न हुने चरणमा आइपुग्दा प्रतिफल भने उत्साहजनक नभएको डा. कार्कीले बताउनुभयो । इजिआरपी युएसआइडीका कार्यक्रम निर्देशक नारायणकृष्ण श्रेष्ठले परियोजनाले नै मोडल बनाउने हो भन्दै प्रोजेक्ट परीक्षणबाट इजिआरपी राष्ट्रिय आवश्यकताको कार्यक्रम भएको बताउनुभयो ।

उहाँले सरकारले मात्र पूर्ण रुपमा प्रारम्भिक कक्षा पढाइ कार्यक्रम गर्न आर्थिक तथा प्राविधिक हिसाबले भार पर्ने भन्दै सघन कार्यक्रम गरेर नतिजा ल्याउन आफूहरु सक्रिय रहेको प्रष्ट्याउनुभयो ।

श्रेष्ठका अनुसार कार्यक्रम लागू भएका र नभएका जिल्लाबीचको तुलना गर्दै २० जिल्लामा अध्ययन गरिएको थियो । परियोजना सञ्चालित स्थानमा एक शब्द मात्र पढ्न सक्ने मातृभाषा नेपाली भएका विद्यार्थीको प्रतिशत ५२ बाट बढेर ६६ प्रतिशत पुगेको थियो । यस्तै, एक शब्द मात्र पढ्न सक्ने नेपाली मातृभाषा नभएका विद्यार्थी ३० प्रतिशत थिए ।

त्यो बढेर ४३ प्रतिशतमा पुग्यो । इजिआरपीमा १ देखि ३ कक्षाका विद्यार्थीको पठनप्रवाह प्रतिमिनेट ४५ शब्द शुद्धसँग पढ्न र ८० प्रतिशत बुझ्न सक्ने बनाउने लक्ष्य लिइएको छ । नेपाली पहिलो भाषा हुने विद्यार्थीमा कक्षा १ मा ५.४, दुईमा ८.७ र तीनमा १२.८ पुगेको देखिन्छ । यस्तै, नेपाली पहिलो भाषा नहुने विद्यार्थीको भने प्रतिमिनेट शुद्ध पढ्नसक्ने पठनप्रवाह कक्षा १ मा १.२, दुईमा १.४ र तीनमा ४.५ मात्र रहेको नतिजा छ ।

इजिआरपीमाथि सन् २०१८ मा गरिएको मध्यवधि मूल्याङ्कनअनुसार नेपाली मातृभाषी विद्यार्थीको ११ प्रतिशतबाट बढेर २६ प्रतिशत पुगेको नतिजा छ । यस्तै, नेपाली मातृभाषा नभएका विद्यार्थी २ प्रतिशतले फर्रर नेपाली पढ्थे । परियोजना अवधिमा १ प्रतिशत मात्र बढेर ३ मा पुगेको देखिन्छ ।

पठन सामग्रीका हकमा भने ९१ प्रतिशत कक्षामा कार्यपुस्तक रहेको दाबी गरिएको छ । ९६ प्रतिशत शिक्षकले शिक्षक निर्देशिका प्रयोग गर्ने गरेका छन् । ९६ प्रतिशत नै शिक्षकले ‘वर्क बुक’ र ८४ प्रतिशतले ‘डिकोडेबल बुक्स’ र पिन ह्विल चार्ट प्रयोग गर्ने गरेको पाइएको छ ।

श्रेष्ठका अनुसार बालबालिकाको स्तरअनुसार एक सय ७७ थरीका सिकाइ सामग्री बनेका, ७७ लाख सन्दर्भ–सामग्री छापिएका र ५ हजारभन्दा बढी विद्यालयमा पुर्याइएका छन् भने ११ थरीका शिक्षक शिक्षण सामग्री बनाइएका छन् ।

प्रारम्भिक कक्षा पढाइ हेरिरहेका शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका उपसचिव युवराज पौडेलले भने यतिको नतिजा आउनुलाई पनि सकारात्मक रुपमा लिनुपर्ने बताउनुभयो ।

‘पढाइमा शून्य अवस्थामा रहेका बालबालिकाले कार्यक्रमपश्चात् सुधार गर्न सकेका छन्,’ उहाँले भन्नुभयो । उहाँले अब न्यूनतम सिकाइ प्याकेजसहित अबको दुई वर्षका लागि ३८ जिल्लामा प्रारम्भिक कक्षा पढाइ कार्यक्रम बिस्तार गरिएको जानकारी दिनुभयो ।

परियोजनालाई संक्रमणकालीन रुपमा सम्पन्न गर्नका लागि दुई वर्ष थप्न सरकार र दातृ समुदाय निर्णयमा पुगिसकेका छन् । शिक्षण सामग्रीयुक्त शिक्षक, सिकाइ तथा घरमा पढ्ने वातावरण, शैक्षिक सामग्रीको उपलब्धता र अभिभावकले छोराछोरीका पढाइका लागि दिने समयलाई आधार मानी इजिआरपी सञ्चालन गर्न लागिएको हो ।

इजिआरपीसम्बन्धी दस्तावेज लेखनमै संलग्न डा. कार्कीको टिप्पणी छ, ‘यहाँसम्म त ठिकै छ । मैलेचाहिँ पाँच वर्ष थपौं र नौवटा कम्पोनेन्टमा तलका कक्षाको पढाइ सुधारौं भनेको हुँ ।’ उहाँले अब उप्रान्त जिल्ला थप्नेभन्दा स्थानीय तहकै लागि इजिआरपी बन्नुपर्नेमा जोड दिनुभयो ।

शिक्षा पत्रकार समूहका अध्यक्ष तुला अधिकारीले शिक्षामा जवाफदेहीबीच छलफल गराएर प्रारम्भिक कक्षा पढाइमा एक किसिमको ‘सोसल अडिट’ गर्न खोजिएको बताउनुभयो । संवादमा बालमनोविज्ञ डा. मीनाक्षी दाहाल, इक्वेल एक्सेसका उपेन्द्र अर्याल, पूर्व शिक्षक किरण आचार्यलगायतले बोल्नुभएको थियो ।