काठमाडौँ उपत्यकामा ५४ जनामा कोरोना संक्रमण

काठमाडौँ – काठमाडौं उपत्यकामा आज ५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले भक्तपुरका १० जना, काठमाडौंका २४ जना र ललिपुरका २० जना गरी उपत्यकाका ५४ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए ।

योसहित आज देशका विभिन्न स्थानमा थप १८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । साथै हालसम्म नेपालमा कोरोना संक्रमितको जम्मा संख्या १५ हजार ९६४ पुगेको छ। पछिल्लो समय काठमाडौँ उपत्यकामा कोरोना संक्रमितको संख्या बढ्दै गएको भएपनि संक्रमित कहाँका हुन् भन्ने मन्त्रालयले खुलाएको छैन ।

१० ठाउँबाट नमुना संकलन

यसैबीच, काठमाडौँ उपत्यकाको समुदायमै कोरोना संक्रमण फैलिएको वा नफैलिएको भन्ने सम्वन्धमा मन्त्रालयले विभिन्न १० ठाउँबाट नमूना स्वाब संकलन गरी परीक्षण थालेको छ। पहिलो चरणमा तीनकुने र नख्खुडोलका २२८ जनाको स्वाब संकलन गरी पिसिआर परीक्षण गरिएकोमा उनिहरू सबैको नतिजा नेगेटिभ आएको मन्त्रालयका प्रवक्ता डा. गौतमले बताए ।

अन्य ठाउँबाट पनि स्वाब लिने र परीक्षण गर्ने क्रम चलिरहेको गौतमले बताएका छन् । काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या बढ्दै गएपछि विज्ञहरूले समेत संक्रमण समुदायमा फैलिएको हुनसक्ने चेतावनी दिँदै आएका छन्।