निजी विद्यालयका प्रिन्सिपलद्धारा आत्महत्या

काठमाडौँ – कोरोना भाइरसका कारण विद्यालय सञ्चालन अनिश्चित बन्दै गएपछि एक निजी विद्यालयका प्रिसिन्पलले देहत्याग गरेका छन् । पर्वतको जनआदर्श अंग्रेजी आवासीय विद्यालयका प्रिन्सिपल श्यामलाल सुनारले आज विहान आत्महत्या गरेका हुन् ।

लकडाउन र आर्थिक कारण भएको हुनसक्ने भन्दै प्याब्सनिष्टहरुले छानबिनको माग गरेका छन् । उनी शुक्रबारमात्रै पर्वतको मोदी गाउँपालिकाको शिक्षा समितिको प्रधानाध्यापकहरुको बैठकमा सहभागी भएका थिए ।

त्यसमा सहजतापूर्वक ६ घण्टासम्म सहभागी भई आफ्ना विचारहरु राखेको उनीनिकट स्रोतले जनाएको छ तर आज अचानक आत्महत्या गरेपछि देशभरका निजी विद्यालय सञ्चालकहरु स्तब्ध भएका छन् ।

पछिल्ला दिनमा निजी विद्यालयका सञ्चालकहरुले विद्यालय सञ्चालनको घरभाडा, शिक्षक कर्मचारीको तलब, बैंकको किस्ता तथा ऋण व्यवस्थापन गर्न पाउनुपर्ने भन्दै शुल्क उठाउन माग गर्दै आएका छन् । सरकार र विद्यार्थी संगठनको दबाबपछि अभिभावकसँग शुल्क उठाउन पाएका छैनन् ।

शुल्क नउठ्दा खर्च व्यवस्थापन चुनौतीपूर्ण गरेपछि विद्यालय सञ्चालकहरु चर्को दबाबमा छन् । लकडाउन, बेरोजगारी लगायतका कारण दैनिक आत्महत्या गर्ने बढ्दै गएका छन् ।

आर्थिक समस्या थिएन : विद्यालय प्रशासन

यसैबीच सुनार कार्यरत विद्यालयले आर्थिक समस्या नभएको जनाएको छ । विद्यालय सञ्चालक समिति अध्यक्ष गंगा तिमिल्सिनाले आत्महत्या गरेका प्रिन्सिपल विद्यालयका संस्थापक नभएको र चैत्रसम्मको तलब लिइसकेको खुल्लापाटीलाई जानकारी दिनुभयो । तर त्यसयताको भने बाँकी रहेको  उहाँको भनाइ छ ।

‘ उहाँ संस्थापक होइन र हामीले उहाँलाई चाहे अनुरुपको तलब दिएका थियौँ । होस्टेल पनि हेर्नुहुन्थ्यो र खानबस्न पनि निःशुल्क गरेका थियौँ । अचानक आत्महत्या गरेपछि हामी स्तब्ध छौँ ।’ उहाँले बताउनुभयो ।

उहाँका अनुसार प्रिन्सिपल सुनारले ३ पटकसम्म लिखितमा नाम निकालेका थिए भने मौखिकमा फालिएपछि यस पटक पनि लोकसेवा तयारीमा थिए ।आत्महत्याको कारण पारिवारिक हुनसक्ने विद्यालय प्रशासनले जनाएको छ । यद्यपि आत्महत्याको कारणबारे अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।